राजनीति

नाम छुटाइदिँदा मतदानबाट वञ्चित

फोटोसहितको मतदाता नामावलीका लागि तस्बिर खिचाएपछि कर्मचारीले दिएको नाम  दर्ता सम्पन्न रसिद देखाउँदै वीरगन्ज भवानीपुरका शिवनाथ राउत । मतदाता सूचीमा नाम नहुँदा उनको छ जनाको परिवार मतदानबाट वञ्चित हुने भएको छ । तस्बिर : रितेश

वीरगन्ज – वीरगन्ज–१८ का शिवनाथ राउतले (साबिक भवानी–६) २०७१ वैशाख ३० मा फोटोसहितको मतदाता नामावलीमा दर्ता हुन सपरिवार फोटो खिचाए । तर अहिले भोट हाल्ने बेलामा उनको नाम मतदाता सूचीमा छैन । उतिबेला आफूसँगै तस्बिर खिचाएका गाउँका अरु मानिस अहिले मतदान तयारीमा रहेका बेला राउत भने फोटो खिच्ने र नाम लेख्ने कर्मचारीले दिएको रसिद ( प्रमाण) लिएर निर्वाचन कार्यालय धाइरहेका छन्। 

राउतजस्तै फोटो खिचाएका सयांै मानिसको नाम मतदाता सूचीमा नभएपछि जिल्ला निर्वाचन कार्यालयमाथि दबाब परेको कार्यालय प्रमुख हुमानाथ पराजुलीले बताए । राउत, उनकी श्रीमती सुनदेवी कुर्मी, छोरा नन्द राउत, बुहारी आशादेवी, नाति मुन्ना कुमार र नातिनी पिंकीकुमारीले मतदाता नामावलीमा नाम लेखाउन फोटो खिचाएका थिए । उनीहरू सबै भोट हाल्न पाइने खुसीमा थिए । तर गाउँमा पुगेको मतदाता सूचीमा नाम नभएपछि राउत अहिले फोटोसहितको नामावली सूचीमा दर्ता भएको प्रमाण देखाउँदै हिँडेका छन् । ‘यो हेर्नस्, पूरा परिवार हामीले फोटो खिचाएका थियौं । यो कागज (दर्ता सम्पन्न रसिद) दिँदै पक्का भयो, नाम फोटोसहित भोटर लिस्टमा छापिएर आउँछ भनेका थिए कर्मचारीले,’ राउतले नागरिकसँग भने, ‘अहिले खोज्दा नामै गायब छ, यसका लागि छानबिन गरेर मलाई भोट हाल्न दिने निकाय कुनै छ कि छैन, थाहा छैन।’

तीन दिनअघि उनी आफूसँग भएको कागजात लिएर पर्सा जिल्ला समन्वय समितिमा राखिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । ‘यहाँ मतदान प्रक्रियाको काम मात्र हुन्छ, भोटर लिस्टसम्बन्धी जानाकारी हुँदैन, जिल्ला निर्वाचन कार्यालय जानुस् भनेर फिर्ता पठाइदिए,’ राउतले भने, ‘त्यसपछि जिल्ला निर्वाचन कार्यालय गएँ, राम्ररी खोज्नु, नाम सूचीमै होला भनेर फिर्ता पठाए, फेरि गएर खोज्न लगाएँ, रहेनछ ।’ निर्वाचन आयोगको वेबसाइटमा रहेको मतदाता सूचीमा नाम फेला नपरेपछि आफू दोहोर्‍याएर निर्वाचन कार्यालय गएको तर कसैले आफ्नो समस्यामा ध्यान नदिएको उनले बताए।  

‘पर्सा जिल्लामा सयौं मतदाताको नाम छुटेको रहेछ, निर्वाचन आयोगको जिल्लास्थित कार्यालयसँग यसको जबाफ छैन्,’ मानवअधिकारकर्मी कृष्णकुमार खनालले भने, ‘जवाफदेही कोही हुन चाहँदैन ।’ जिल्ला निर्वाचन कार्यालयका प्रमुख पराजुलीले यसलाई आयोगको गल्ती बताए । ‘मानिससँग नाम दर्ता सम्पन्न रसिद छ, यता मतदाता सूचीमा नाम छैन्, यस्तो समस्या व्यापक रूपमा आइरहेको छ,’ पराजुलीले भने, ‘प्रदेश २ का आठवटै जिल्लामा यस्तो समस्या देखिएपछि दर्ता सम्पन्न रसिद हेरेर भोट हाल्न दिने कि भनेर आयोगमा प्रस्ताव गरियो तर हुने भएन्।’ 

प्रकाशित: २ आश्विन २०७४ ०२:०२ सोमबार

नाम छुटाइदिँदा मतदानबाट वञ्चित