राजनीति

मुखमा बिपीको समाजवाद बगलीमा ‘मनी' र ‘मसल’वाद

देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिलामुकिला, चिल्ला गाडी चढ्नेहरू पार्टीभित्र हाबी हुनेछन्।मेरै बारेमा पनि अनर्गल प्रचार हुनेछ।त्यसका विरुद्ध आम कार्यकर्ताले फेरि एकचोटि संघर्ष गर्नुपर्ने हुन्छ ।’ नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको भनाइ हो यो। ७८ वर्षअघि देशमा प्रजातन्त्र स्थापनासहित जनहितका लागि बिपी कोइरालासहितका नेताहरूले पार्टी स्थापना गरेका थिए। तर, काँग्रेस र तिनका नेताहरू अहिले देश र जनहित होइन, आफू र आफ्नाको हितमा केन्द्रित बन्न पुगेका छन्।बिपी कोइरालाले भनेजस्तै काँग्रेस अहिले सुकिलामुकिला र चिल्ला गाडी हुनेहरूको कब्जामा पर्दा जनजीविकाका मुद्दाहरू ओझेलमा परेका छन् ।

पार्टीको विचार, सिद्धान्त र कार्यक्रम होइन, ‘मनी’ र ‘मसल’का बलमा काँग्रेसमा ‘पोजिसन होल्ड’ गर्ने प्रवृत्ति मौलाउँदै गएको छ। लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुने त परको कुरा काँग्रेसका सामान्य कार्यक्रम, नीति र सिद्धान्तप्रति बेखबर झन्डै दुई दर्जन व्यक्ति प्रतिनिधिसभामा सदस्य छन्। विभिन्न व्यवसाय गरेर मनग्गे पैसा आर्जन गरेका व्यक्तिले पैसा तिरेर काँग्रेससँग पद साटेका छन्।उनीहरूलाई काँग्रेस संगठन निर्माण हुनु वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै सरोकार छैन।त्यति नै संख्या काँग्रेसमा लागेबापत प्राप्त गरेको पदलाई देखाएर आर्थिक उपार्जन र व्यवसाय सञ्चालनमा सक्रिय छन्।बाँकीमध्येको आधा नेताका प्रत्यक्ष व्यापार, व्यवसाय देखिँदैन तर उनीहरूको आचरण, लवाइखवाइ भड्किलो छ र विभिन्न काण्डहरूमा मुछिएका छन्।देशमा कुनै काण्ड आउनेबित्तिकै काँग्रेसका कुनै न कुनै जिम्मेवार नेताको नाम जोडिने गरेको छ ।

जनतासँगको सम्बन्ध टुट्दै गएको र तस्करहरूसँग सम्बन्ध विस्तार हुँदै गएको आरोप काँग्रेसका नेताहरूमाथि लाग्ने गरेको छ अहिले।आफू र आफ्ना लागि होइन, बिपीले पार्टी र पार्टीभन्दा माथि देश र जनतालाई राखेका थिए।तर अहिले देश, पार्टी र जनता होइन, आफू र आफ्ना लागि भन्ने मानसिकता काँग्रेसका नेताहरूमा हाबी भएको छ।आफू र आफ्नाका लागि केन्द्रित हुँदा काँग्रेसमा गुट राजनीतिक तल्लो तहसम्म झाँगिन पुगेको छ ।

बिपी कोइरालाकै पालामा पनि काँग्रेसमा गुटको राजनीति थियो।तर सत्तास्वार्थ र भागबन्डालाई लिएर नभई पार्टीको सिद्धान्त र कार्यक्रमबारे नेताहरूबिच मतभेद र विवाद गुटबन्दी हुने गथ्र्यो।दरबारसँग दाजु मातृकाप्रसाद कोइराला मिल्न थालेपछि बिपीकै अग्रसरतामा काँग्रेसले कारबाही गरेको थियो।तर अहिले पार्टी र देश तथा नीति तथा कार्यक्रमका लागि होइन, आफू र आफ्ना लागि विवाद र गुट बन्दै गएका छन्।

नेताहरूमा बढ्दै गएको अहंकार, सुखसयल, आत्मकेन्द्रित र आसेपासे पुँजीवाद प्रवृत्तिका कारण कांग्रेस विचारविहीन र कार्यक्रमविहीन बन्न पुगेको छ।

संस्कार बढ्दै गएको छ।गुटगत स्वार्थ पूरा हुँदा विधान कुल्चँदा पनि चुप बस्ने आफ्नो स्वार्थ पूरा नहुँदा त्यसैलाई कोकोहोलो मच्चाउने परिपाटी विकास भएको छ।जसले गर्दा आफूलाई लोकतान्त्रिक पार्टीको नेता भनाउने काँग्रेसका वर्तमान नेताहरूले पार्टी विधानलाई पटकपटक कुल्चँदै आएका छन्।कांग्रेस विधिअनुसार चल्न सकेको छैन ।

बिपी कोइरालाले जात र क्षेत्रको राजनीति गरेनन्।तर पार्टी होस् कि सरकार निर्माणमा सबै जात, समुदाय र क्षेत्रलाई समेटेर अघि बढेका थिए।पार्टीमा जातीय संगठनहरू खोलेका थिएनन्।सबै जातजाति र क्षेत्रका मान्छेहरू अटाएका थिए।भन्थे, ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन ।’ अहिले जातीयता तथा क्षेत्रीयताका आधारमा संगठनहरू स्थापना भएका छन्।बाहिर समावेशी देखाउने प्रयास भएको तर व्यवहारमा भने त्यस्तो नरहेको महिला, मधेसी होस् वा जनजातिका नेता तथा कार्यकर्ताले गुनासो गर्ने गरेका छन् ।

पार्टीमा युवालाई स्थान दिनुपर्ने र दिइने काँग्रेसका नेताहरूले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।तर पार्टीका भ्रातृ संगठनहरूको महाधिवेशन वर्षौंदेखि भएका छैनन्।त्यहाँ आफू, आफ्ना र आफूले भनेका सहभागी भए मात्र युवाको मानक स्थापित गर्ने प्रयास भइरहेको आरोप छ।मुलुकको आर्थिक विकासबारे बिपीको स्पष्ट दृष्टिकोण थियो।उनले गाउँको विकासलाई जोड दिएका थिए।‘जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ, त्यो विकास त विकास नै होइन।मेरो विचारमा सहरको सुविधा मात्र हेर्ने, गाउँको बेवास्ता गर्ने विकास विकासै हुन सक्दैन,’ उनी भन्थे ।

२०४८ सालमा गठन भएको सरकारले ग्रामीण क्षेत्रको विकासलाई केही प्राथमिकतामा राखेको थियो।तर त्यसपछि काँग्रेस नेतृत्वमा गठन भएको सरकारको प्राथमिकता गाउँ होइन, सहर बन्न पुग्यो।काँग्रेस नेताहरू सहर केन्द्रित हुन पुगे।र, आफ्नै सुखसयललाई उनीहरूले प्राथमिकतामा राखे।त्यसैलाई संकेत गर्दै काँग्रेस नेता प्रदीप गिरिले विकासको मोडल परिवर्तन गर्नुपर्ने बताउँदै भनेका थिए, ‘चामल र गहुँ नचिन्ने अर्थमन्त्री बने ।’ उनले सहर बनाउने होइन, गाउँ बनाउने बजेट नेपालको आवश्यकता भएके बताउँदै आएका थिए ।

राजनीतिक स्तरमा लोकतन्त्र (प्रजातन्त्र), आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने विकास र समानतालाई बिपीले जोड दिएको देखिन्छ।त्यसका लागि गरिबी उन्मूलन जोड दिँदै त्यस बिना राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बुझाइमा रहेका बिपीले तत्कालीन अवस्थामा एक पेट खाना, एक सरो नाना (लुगा), एक हल गोरु, दुहुनो गाईलाई मानक बनाएर समाजवादको परिकल्पना गरेका थिए।

‘समाजवादी मियोमा बाँधिएनन् भने तेस्रो विश्वका देशहरू या त फासिस्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिस्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर,’ बिपीले भनेका थिए।

‘जसको आङमा फाटेको र मैलो लुगा छ।टाउकोमा घेरा मात्र भएको टोपी छ।बिरामी परे ओखतीमुलो पाउँदैनन्।आफ्ना छोराछोरीलाई शिक्षादीक्षाको प्रबन्ध गर्न सक्दैनन्।जसलाई बिहान खाए बेलुका के खाऊँ र बेलुका खाए बिहान के खाऊँ भन्ने समस्या छ।तिनै गरिब किसानको देश हो नेपाल,’ बिपीले भनेका थिए ।

तिनै जनतालाई केन्द्रमा राखेर बदलिएको अवस्थामा समाजवादी लक्ष्यमा पुग्ने काँग्रेसका नेताहरूसँग कुनै कार्यक्रम र योजना छैन।पुँजीवादी आचरण र व्यवहारमा रमाइरहेका काँग्रेसका नेताहरूले भाषणमा भने बिपीको समाजवाद मात्र भन्ने गरेको देखिन्छ।समाजवाद भाषणभन्दा व्यवहारमा हुनुपर्ने हो तर अहिलेका काँग्रेस नेतामा आचरण, व्यवहार र कार्यक्रममा समाजवादी चिन्तन देखिँदैन।बरु आफ्नो स्वार्थ पूरा गर्न र गराउन कांग्रेस नेताहरूले ‘मसाजवाद’ तीव्र बनाएका छन्।

‘समाजवादी मियोमा बाँधिएनन् भने तेस्रो विश्वका देशहरू या त फासिस्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिस्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर,’ बिपीले भनेका थिए।उनकै भनाइलाई आधार मान्ने हो भने पनि दक्षिण एसियाका केही देश अहिले नै सैनिक तानाशाही व्यवस्थाबाट आक्रान्त बन्न पुगेका छन् भने केहीमा धर्मको मुद्दालाई प्राथमिकता पाएको छ ।

संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान जारी भएपछि नेपालमा पनि धार्मिक विषयले बेलाबेला स्थान पाउने गरेको छ।बिपी कोइरालाले स्थापना गरेको नेपाली काँग्रेसका कतिपय नेताले धार्मिक विषयमा राजनीतिक रङ भर्ने प्रयास गर्दै आएका छन्।त्यसकै बलमा पार्टी र सत्ता राजनीतिमा टिक्ने र पुग्ने प्रयास हुने गरेका छन्।बिपीले धर्मलाई न सत्ता राजनीतिकसँग जोडे न त व्यक्तिगत स्वार्थसँग। उनले भनेका छन्, ‘धर्मका विरुद्धमा त म पटक्कै छैन, छँदै छैन तर सबैलाई थाहा छ, म धर्मको अभ्यास गर्दिनँ।मन्दिरमा जाँदाखेरि मलाई करुणाको भाव जागृत हुन्छ।मन्दिरमा जान्छु तर देवताबाट कुनै आशा गरेर जान्न ।’

राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना भएको मान्यता बिपीले राखेजसरी काँग्रेसले राष्ट्रियता र राष्ट्रवादको पक्षमा जनभावनाअनुसार प्रस्तुत हुन सकेको छैन।

काँग्रेस नेताहरूले देशभित्र मात्र होइन, छिमेकीहरूसँग समेत धर्मका विषयमा विभिन्न प्रतिबद्धता जनाएको र त्यसलाई पूरा नगरेको गुनासो अन्तर्राष्ट्रिय समुदायबाट समेत आउने गरेको छ।राष्ट्रियताको धुकधुकीअनुरूप राजनीति गरे अनन्त शक्ति प्राप्त हुन्छ भन्ने मान्यता बिपीले राख्दै आएका थिए।राष्ट्रियतामाथि नै प्रहार हुने संकेत पाएपछि बिपी २०३३ सालमा मेलमिलापको नीति लिँदै स्वदेश फर्केका थिए ।

तत्कालीन पञ्चायती शासन व्यवस्थाले फाँसीसहितका विभिन्न आठ मुद्दालाई प्रवाह नगरी बिपी भारतको निर्वासनबाट स्वदेश फर्केका थिए।स्वदेश फर्कने क्रममा उनले भनेका थिए, ‘प्रजातन्त्र नभए देश रहँदैन, राजा रहँदैनन्, हाम्रो त कुरै भएन।त्यसैले आजको राष्ट्रियताको नारा हो प्रजातन्त्र ।’ त्यति मात्र होइन, बिपीले राष्ट्रियताको सवालमा राजा र आफ्नो घाँटी जोडिएको बताएका थिए ।

२०६२/६३ सालको आन्दोलनसँगै २४० वर्ष लामो राजतन्त्रको अन्त्यसँगै राजतन्त्रको पक्षपाती पूर्वपञ्चहरू मात्र होइन, काँग्रेसका कतिपय नेताहरू बिपीलाई गणतन्त्रविरोधी नेताका रूपमा व्याख्या गर्न थालेका छन्।बिपीले राजनीतिक दलमार्फत जनताका सेवक खोजेका थिए।तर एउटा राजा हटाएर गाउँगाउँमा धेरै राजा बनेको गुनासो बढ्दै गएका बेला काँग्रेस नेताहरू नै बिपीलाई राजावादी र राजतन्त्रको पक्षपाती करार गर्न सक्रिय हुँदै आएका छन्।गणतन्त्रमा जाने काँग्रेस (पार्टी) निर्णय गलत भएको तर्क उनीहरूले गर्दै आएका छन् ।

सत्ता र शक्तिमै काँग्रेस नेता तथा कार्यकर्ताको ध्यान केन्द्रित छ।तर त्यस्तो सत्ता आफ्नो अनुकूल नहुँदा र नहुने अवस्थामा काँग्रेसका नेताहरूले कम्युनिस्ट पार्टीसँगको सहकार्यको विरोध गर्दै आएका छन्।बिपीले कम्युनिस्टसँग कहिल्यै सहकार्य नगरेको भन्दै काँग्रेसका कतिपय नेताहरूले गणेशमान सिंहदेखि अहिलेको नेतृत्वसम्मको आलोचना गर्दै आएका छन्।तर बिपी र त्यतिबेलाका कतिपय सन्दर्भमा पुष्पलालसँग सहकार्य र पार्टी एकतासम्मको छलफल भएको पाका पुस्ताका नेताहरूले बताउने गरेका छन् ।

कुनै निजी कम्पनी तथा संस्थाले विगतमा आयोजना गरेको यस्तै महोत्सवको ‘कपी’ गरेर भए पनि काँग्रेसले आफ्ना पूर्वजहरूको योगदानको चर्चा गरेको छ।

२०३६ सालको जनमतसंग्रहको परिणाम बहुदलको पक्षमा ल्याउने बिपीले त्यतिबेलाका कम्युनिस्ट पार्टीसँग संवाद गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायको चाहनाअनुसार परशुनारायण चौधरीलाई प्रधानमन्त्री बनाउनसमेत तयार भएका थिए।तर तत्कालीन नेकपा मालेसहितका कम्युनिस्ट पार्टीहरू बहुदलको पक्षमा नखुल्दा पञ्चायतले जितेको काँग्रेस नेताहरूले गुनासो गर्दै आएका छन्।

विकेन्द्रीकरणको पक्षपाती बिपीलाई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि काँग्रेसकै नेताहरूले संघीयताविरोधी र एकात्मकतावादी देखाउने प्रयासमा छन्।आफूमा आएको अधिकार अर्कोमा हस्तान्तरण पक्षमा नरहेका कांग्रेस नेताले बिपीलाई देखाएर आफ्नो स्वार्थ पूरा गर्न लागिपरेका छन्।कांग्रेस नेता शेखर कोइराला पार्टीका नेताहरू नै संघीयताको पक्षमा नरहेको संकेत गरेका थिए।

शक्ति र छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्दै बिपीले उनीहरूलाई मुलुकको हितमा प्रयोग गर्दै आएका थिए।दुवै छिमेकीसँग सन्तुलित सम्बन्धन राख्ने प्रयास बिपीले गरेका थिए।तर अहिले नेपाल शक्ति राष्ट्रहरूको खेलमैदान बन्दै गएको छ।र, आगामी दिनमा नेपाल भूमि छिमेकी तथा मित्र राष्ट्रविरुद्ध प्रयोग हुने त होइन भन्ने आशंका बढ्दै गएका बेला काँग्रेसले आफ्नो परराष्ट्र नीति स्पष्ट गर्न सकेको छैन।

राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना भएको मान्यता बिपीले राखेजसरी काँग्रेसले राष्ट्रियता र राष्ट्रवादको पक्षमा जनभावनाअनुसार प्रस्तुत हुन सकेको छैन।सत्तास्वार्थले शक्तिराष्ट्रसामु ‘लम्पसार’ परेको आरोप कांग्रेस र तिनका नेताहरूमाथि लाग्ने गरेको छ ।

देशको अस्तित्व रक्षा गर्ने भूमिकामा काँग्रेस कमजोर बन्दै गएको आम बुझाइ छ।बिपी आफैंले भनेका थिए, ‘हिजोसम्म हाम्रो (नेपाली काँग्रेसको) संघर्ष जनताको प्रजातान्त्रिक अधिकारका निम्ति मात्र थियो।त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं।आज यसमा एउटा नयाँ आयाम थपिएको छ।काँग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ।यो दोस्रो जिम्मेवारी हो, देशको अस्तित्वको रक्षा गर्ने ।’

काँग्रेसले बिपी कोइरालाको ११०औं जन्मजयन्तीका अवसर पारेर आइतबारदेखि मंगलबारसम्म तीन दिने साहित्य महोत्सव आयोजना गरेको छ।महोत्सवमा उनको जीवनको विभिन्न आयामका विषयमा छलफल र बहस भइरहेको छ। कुनै निजी कम्पनी तथा संस्थाले विगतमा आयोजना गरेको यस्तै महोत्सवको ‘कपी’ गरेर भए पनि काँग्रेसले आफ्ना पूर्वजहरूको योगदानको चर्चा गरेको छ।

पार्टीका मात्र होइन, अन्य पार्टी र विचारका व्यक्तिलाई पनि सहभागी गराएर बिपीबारे काँग्रेसले बहस चलाइरहेको छ।तर काँग्रेसका नेताहरू उनै बिपीको आचरण, सिद्धान्त र कार्यक्रमबाट भने पूर्ण रूपमा विमुख हुन पुगेका छन्।उनै बिपीले अघि सारेका कार्यक्रम र विचारहरू कार्यान्वयन गर्ने उनीहरूमा तत्परता र प्रतिबद्धता छैन ।

पार्टीको विधान संशोेधन गरेर दर्जनौं पद सिर्जना गरे पनि काँग्रेस अहिले नीति र नेताविहीन जस्तो बन्न पुगेको छ।नेताहरूमा बढ्दै गएको अहंकार, सुखसयल र आत्मकेन्द्रित प्रवृत्तिका कारण काँग्रेस विचारविहीन र कार्यक्रमविहीन बन्न पुगेको छ।र, हरेक आन्दोलनको अगुवाइ मात्र होइन, समाज रूपान्तरणका लागि विचार र कार्यक्रमले अगुवाइ गर्दै आएको काँग्रेस अहिले निजी कम्पनी र संस्थाहरूले जस्तो आफ्नो नीति तथा कार्यक्रम बनाउन प्रतियोगिता आयोजना गर्ने अवस्थामा पुगेको छ ।

प्रकाशित: २६ भाद्र २०८० ०२:५३ मंगलबार

बिपीबारे काँग्रेस प्रजातन्त्र नेपाली काँग्रेस बिपी कोइराला पोजिसन होल्ड