राजनीति

दुर्घटना घटाउन 'ट्राफिक शिक्षक' कार्यक्रम

कावासोती— पश्चिम नेपालमा सबै भन्दा बढी दुर्घटनाहुने नवलपरासीको कावासोती क्षेत्रमा  बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक–एक जना ट्राफिक शिक्षक उत्पादन गरिदै छ।

विद्यालयबाट संचार छिटो हुने भएकाले अटो वेज प्रालि चितवन र रोटरी क्लब नारायणगढको सहयोगमा जिल्ला ट्राफिक कार्यालय कावासोती  नवलपरासीले प्रत्येक विद्यालयमा एक एक जना ट्राफिक शिक्षक उत्पादन गर्ने सुरु गरेको छ।

जिल्ला ट्राफिक कार्यालय कावासोतीका प्रमुख धम्रेन्द्र रावालको अनुसार  ट्राफिक शिक्षकले आफ्ना विद्यालयमा गई विद्यालय ट्राफिक स्वयंसेवक उत्पादन गर्नेछन्। उत्पादित स्वयंसेवकले आफ्नो घर र समाजमा ट्राफिक सचेतनासम्बन्धी जानकारी गराउने छन्।

'जिल्लामा दुर्घटना वढ्दो मात्रामा छ', नवलपरासीका ट्राफिक प्रहरी प्रमुख रावलले भने, 'दुर्घटना न्यूनीकरणका लागि शिक्षक र विद्यार्थीले ट्राफिकको काम गर्नेछन्।' विद्यालय, शिक्षक र विद्यार्थीबाट तत्काल घर अनि समाजलाई सकारात्मक प्रभाव पर्ने भएकाले नमूनाको रुपमा नवलपरासीमा यो कार्यक्रम ल्याइएको ट्राफिक प्रमुख रावलले बताए।

ट्राफिक शिक्षक उत्पादन गर्ने उद्देश्यका साथ आईतबार कावासोतीमा यस क्षेत्रका विद्यालयका शिक्षकहरुलाई भेला गराएर ट्राफिक नियम, व्यवस्थापन, सवारी दुर्घटना न्युनीकरण  र सहज व्यवस्थापन सम्बन्धमा जानकारी गराइएको छ।

 

प्रकाशित: २५ भाद्र २०७४ १३:४७ आइतबार

दुर्घटना घटाउन ट्राफिक शिक्षक कार्यक्रम