राजनीति

उप्रधानमन्त्री गच्छदारलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौं- निर्वाच आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई स्पष्टीकरण सोधेको छ।

आयोगले गच्छदारसँगै जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई पनि स्ष्टीकरण सोधेको छ। शनिबार बसेको आयोगको बैठकले उनीहरुले निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उप्रधानमन्त्री गच्छदारले वीरगञ्जमा निर्वाचन आचारसंहिता विपरित मोटरसाइकल र्‍याली निकालेको आयोगले जनाएको छ।

 'मोटरसाइकलहरूको र्‍याली निकाली नेपाल सरकारका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले निर्वाचन आचार संहिता उल्लंघन गरेको देखिएकाले निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने र यसैगरी उल्लिखित निर्वाचन आचार संहिता उल्लंघन गरेवापत वीरगञ्ज महानगरपालिकाका नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निजको उम्मेदवारी किन रद्द गर्न नपर्ने हो २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने ', आयोगको निर्णयमा भनिएको छ।  

यस्तै जलस्रोत राज्यमन्त्री पुनले सरकारी गाडीमा कांग्रेस कार्यकर्ता राखेर निर्वाचन प्रचारमा हिँडेको भन्दै         “निर्वाचन आचार संहिता, २०७२ को दफा ४(ङ) विपरीत सरकारी साधन स्रोतको दुरूपयोग गरी निर्वाचन आचार संहिताको उल्लंघन गरेवापत जलस्रोत राज्यमन्त्री अमर सिंह पुनलाई किन कारबाही हुनु नपर्ने हो ? सो को स्पष्टीकरण २४ घण्टाभित्र आयोगमा पेश गर्न लगाउने ', निर्णय गरेको छ।

यस अघि निर्वाचन आयोगले एमालेका वरिष्ठ नेता माधव नेपालसँग पनि स्पष्टीकरण मागेको थियो। नेपालले बारामा चुनाव प्रचारको क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै प्रष्टीकरण सेधेको थियो।

 

प्रकाशित: २४ भाद्र २०७४ १४:३१ शनिबार

उप्रधानमन्त्री गच्छदारलाई २४ घण्टाभित्र स्पष्टीकरण गर्न निर्देशन