राजनीति

राजपा घोषणापत्र : कांग्रेस र एमालेप्रति लचक

काठमाडौं- एमालेलाई पहिलो शत्रु मान्दै आएको राष्ट्रिय जनता पार्टीले आफ्नो नीति परिवर्तन गर्दै  पहिलो निसाना माओवादी केन्द्रलाई बनाएको छ ।

‘माओवादी लोकतान्त्रिक प्रणालीमा विश्वास नराख्ने पार्टी हो । शक्तिको भरमा राज्यसत्ता कब्जा गर्ने नीतिबाट पार्टी सञ्चालित छ । अधिनायकवाद र सर्वसत्तावादमा विश्वास गर्ने हुनाले यस पार्टीको मूल चरित्र संघीयताविरोधी हो ।

राजपाले बिहीबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा माओवादीलाई पहिलो निसाना बनाइएको छ । राजपा कांग्रेस र एमालेप्रति माओवादीको तुलनामा निकै लचक देखिएको छ ।

घोषणापत्र सार्वजनिक गर्न बिहीबार पार्टी कार्यालय बबरमहलमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले माओवादीको त्यति आलोचना त गरेनन् तर पनि कार्यक्रममा वितरित घोषणापत्रमा भने माओवादीको कडा आलोचना गरिएको छ । माओवादीलाई लोकतन्त्र र संघीयताविरोधी पार्टी भएको दाबी गरिएको छ ।

यसैगरी मधेस आन्दोलनका क्रममा रमेश महतोलगायत ५२ जनाले सहादत प्राप्त गर्नुमा माओवादी प्रमुख जिम्मेवारी भएको दाबी गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘माओवादी लोकतान्त्रिक प्रणालीमा विश्वास नराख्ने पार्टी हो । शक्तिको भरमा राज्यसत्ता कब्जा गर्ने नीतिबाट पार्टी सञ्चालित छ । अधिनायकवाद र सर्वसत्तावादमा विश्वास गर्ने हुनाले यस पार्टीको मूल चरित्र संघीयताविरोधी हो ।’ माओवादी हाबी भएका कारण मुलुकमा दण्डहीनता, अशान्ति, असुरक्षा, भ्रष्टाचार अराजकता बढेको आरोप पनि माओवादीमाथि लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक मधेस आन्दोलनका क्रममा रमेश महतोसहित ५२ जना सपूतको हत्याको मुख्य जिम्मेवार माओवादी केन्द्र नै हो ।’

घोषणपत्रमा प्रमुख तीन दललाई एकमुष्ठ गाली गरिएको छ । ‘हरेक ठाउँ र निकायमा यिनै तीन दलका अयोग्य, असक्षम, अनुभवहीन, भरौटे भएकाले राज्यका यावत् संयन्त्रहरू यिनकै स्वार्थपूर्तिका साधनमा सीमित भएका छन्’’ घोषणापत्रमा उल्लेख छ । यसैगरी नेपाली कांग्रेस संघीयता र समावेशी लोकतन्त्रप्रति प्रतिबद्ध नभएको र एमाले मधेसप्रति अनुदार पार्टी भएको आरोप राजपाले लगाएको छ ।

मधेसका केही लोकप्रिय भनिने नेताहरू रामचन्द्र झा, रामेश्वर राय यादव, शिवपुजन राय, महेन्द्र पासवान, रामकुमार शर्मालगायतका नेताहरू स्थानीय चुनावको संघारमा माओवादीमा प्रवेश गरेपछि राजपाका नेताहरू माओवादीप्रति झस्किएको स्रोतको भनाइ छ ।  जिल्लामा पनि  राजपाका केही लोकप्रिय कार्यकर्ता पनि केन्द्रीय नेतासँगै माओवादीमा प्रवेश गरेका छन् । तेस्रो चरणको निर्वाचनमा माओवादी र राजपाबीच तालेमल हुन सकेन ।

पहिलो र दोस्रो चरणको चुनावमा राजपाले पहिलो निसाना एमालेलाई बनाएको थियो । पार्टीको नीति फेरिनुमा  २ नम्बर प्रदेशको चुनावलाई लक्षित गरिएको राजपा नेताहरूले जनाएका छन् ।

राजपाका संकल्प यस्ता छन्

घोषणपत्रमा केही संकल्प पनि सार्वजनिक गरिएका छन् । मधेसमा लामखुट्टे न्यूनीकरण गर्न स्पे्रको व्यबस्था गर्ने, सबै सरकारी विद्यालयमा पौष्टिक आहारको व्यवस्था गर्ने, विदेश गएका युवालाई स्वदेश फर्काउन स्वरोजगारका लागि केही अनुदान र ब्याजरहित ऋण उपलब्ध गराउने, मधेसलाई लोडसेङि मुक्त बनाउनेलागयतका संकल्प घोषणापत्रमा उल्लेख छन् ।

प्रकाशित: २३ भाद्र २०७४ ०३:१२ शुक्रबार

राजपा घोषणापत्र कांग्रेस एमालेप्रति लचक