राजनीति

एमाले पहिचान विरोधी होइन: नेम्बाङ

धरानमा राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश प्रथम अधिवेशनलाई सम्बोधन गर्दे नेता नेम्बाङ। तस्बिर: रोहित राई।

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता सुवासचन्द्र नेम्बाङले नेकपा एमाले पहिचान विरोधी पार्टी नभएको दाबी गरेका छन्।

राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई धरानमा सम्बोधन गर्दै नेता नेम्बाङले यस्तो बताएका हुन्। उनले मुलुक धर्म निरपेक्षता र समावेशिता बनाउने पार्टी एमाले भएको बताए। धर्मनिरपेक्ष मुलुक बनाउदा आफुलाई निसाना साधेको पनि उनले प्रसंग उप्काए।

किरात महागुरु फाल्गुनन्दलाई देशको राष्ट्रिय विभुती आफ्नो र एमालेको पहलमा घोषणा गरेको उल्लेख गर्दै एमाले पहिचान विरोधी नभएकोमा जोड दिए। उनले फाल्गुनन्दलाई राष्ट्रिय विभुती घोषणा गरेपनि उनी मात्र किरातीहरुको मात्र नभएर सिंगो देश, सबै जाति, धर्म, सँस्कृतिका जनताको पनि महागुरु भएको बताए।

‘अब फाल्गुनन्द किरातीहरुको मात्र रहेनन्, उनी सिंगो देशको, सबै जाती, भाषा, धर्म, सँस्कृतिका जनताको महागुरु भए, यति काम गर्ने पार्टीलाई पहिचान विरोधी भन्न मिल्छ ?’ उनले भने, ‘हिड्ने क्रममा कही कतै अलिकति कमजोरी भयो कि भन्नु, छलफल गर्नु एउटा कुरा हो। तर, पहिचान विरोधी भन्ने, ढुगा हान्ने गर्नुमिल्छ ?’

संविधानसभाका अध्यक्षसमेत रहेका नेता नेम्बाङले पहिचानवादीको ढुंगा प्रहारले ताप्लुजुङको लिम्बु डिएसपी र झापाको राजवंशी थरका हवल्दारलाई घाइते बनाएको प्रसंग उल्लेख गर्दै भने, ‘पहिचानको ढुंगा खतरनाक हुदो रहेछ, ताप्लेजुंगको लिम्बु डिएसपीलाई लाग्ने, झापाको राजवंशी हवल्दारलाई लाग्ने, कस्तो खालको ढुंगा हो ?’

उनले पहिचानको नाममा ढुंगा प्रहार गर्ने प्रवृत्ति कसैको हितमा नभएको बताउदै लोकतन्त्र विपरीतको यस्ता कार्य, लोकतन्त्रको मुल्यमान्यता विपरीत काम रोक्न आग्रह पनि गरे।

‘म आग्रह गर्न चाहन्छु, ढुंगा हान्ने कुरा गलत हो, लोकतन्त्र विपरित कार्य, यस्ता मुल्यमान्यता विपरीत कामहरु जहाँबाट भएको हो, त्यसलाई रोकौं।’ उनले आफ्नो बारेमा र आफ्नो पार्टीको बारेमा चित्त नबुझे विरोध गर्न पाउने भएपनि लोकतान्त्रिक विधि प्रक्रिया वमोजिमका काम कारबाही गर्न आग्रह गरे।

‘मेरो बारेमा चित्त बुझेन विरोध गर्नुस्, हाम्रो पार्टीको बारेमा चित्त बुझेन विरोध गर्नुस्, तर लोकतन्त्रको मुल्य मान्यतालाई वलियो बनाउदै लिएर जानुपर्छ, यो नै देश र जनताको हितमा छ,’ उनले भने।

छिमेकी मुलुक भारत दास बन्नुपरेको प्रसंग उल्लेख गर्दै नेम्बाङले तराई मधेशदेखि हिमालसम्मका सबै जाति, धर्म, भाषा, सँस्कृतिका जनता एकठाउँमा उभिएकै कारण नेपाल पराधिन हुनुनपरेको बताए। ‘तर, त्यसको विरुद्धमा कता कता कहिलेकही षडयन्त्र भइरहेको छ कि भन्ने देखिन्छ। हाम्रा युवाहरुले यो कुरा लिएर जनताको बीचमा जानुपर्छ, एकजुट जनतालाई बनाउनुपर्छ, तराई मधेशदेखि हिमालसम्मका विविध जाती, विविध भाषा, धर्म र सँस्कृति भएकाहरुलाई एक ठाउँमा उभ्याएर देशलाई एकजुट बनाउनुपर्छ, कसैको षडयन्त्र सफल हुदैन,’ उनले भने।

प्रकाशित: २३ भाद्र २०८० १४:४३ शनिबार