राजनीति

परराष्ट्रमन्त्री महरा चीन भ्रमणमा

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने चीन भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन गएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिएपछि नेपालबाट चीनमा भएको यो सबैभन्दा ठूलो उच्चस्तरीय भ्रमण हो ।
भ्रमणका बेला उनले चिनियाँ प्रधानमन्त्री लि खस्साङसँग शिष्टाचार भेट गर्नेछन् भने चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्ने जनाइएको छ । वार्तामा नेपाल–चीन सम्बन्धको सबै आयामका बारेमा छलफल हुने जनाइएको छ । चिनियाँ वरिष्ठ राजनीतिज्ञसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका बेला मन्त्री महरा बेइजिङस्थित चाइना फरेन अफयेर युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।
ग्वान्जाओमा हालै स्थापना गरिएको नेपाली महावाणिज्य दूतावासको पनि उनले एक कार्यक्रमबीच उद्घाटन गर्नेछन् । ग्वान्जाओमा उनले त्यहाँको व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नेछन् । परराष्ट्रमन्त्री महरा भदौ २६ गते स्वदेश फर्कनेछन् ।

 

प्रकाशित: २२ भाद्र २०७४ ०३:४३ बिहीबार

परराष्ट्रमन्त्री महरा चीन भ्रमणमा