राजनीति

प्रदेश-२ मा उत्सवमय उम्मेदवारी

मधेसवादी दलकै कारण तेस्रो चरणमा सारिएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि बुधबार उल्लासपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्तालाई ‘उत्सव’ का रूपमा लिइयो । विभिन्न दलका उम्मेदवारले बाजागाजा र नाचगानसहित उम्मेदवारी मनोनयन गराएका छन् । मतदान असोज २ गते हुनेछ ।
आठ जिल्ला रहेको प्रदेश नम्बर २ मा १३६ स्थानीय तह छन् । सबै स्थानीय तह्रमा भएको उम्मेदवारी दर्ता कुनै उत्सवभन्दा कम थिएन् । राजनीति खिचातानीले प्रदेश २ मा चुनाव हुने÷नहुने आशंका व्याप्त रहेकै बेला उम्मेदवारी दर्तामा देखिएको उत्साहले मंसिरमा तोकिएको प्रदेश÷केन्द्रको चुनावका लागि पनि सकारात्मक वातावरण बनेको विश्लेषण गरिएको छ ।
    ‘प्रदेश–२ मा भएको मनोनयन दर्ताले देशभर नै उत्साह थपेको छ,’ मधेस मामिला विश्लेषक विजयप्रसाद मिश्रले नागरिकसँग भने, ‘मधेसका जनता चुनाव, लोकतन्त्र र परिवर्तन पक्षधर रहेको यो एउटा पछिल्लो उदाहरण पनि हो ।’ लावालस्कर र दलबलसहित मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका उम्मेदवार पनि हर्षलेविभोर देखिन्थे । पार्टी कार्यालय र निवासबाटै दलबलसहित निस्केका उम्मेदवार उम्मेदवारी दर्ता गराउन पैदलै निर्वाचन कार्यालय पुगेका थिए ।

‘मधेसमा पनि मतलाई उपयोग गर्ने सिद्धान्त देखियो,’ विश्लेषक मिश्रले भने, ‘पार्टी परिवर्तन गरेर भए पनि चुनाव चाहिँ लड्नेसम्मको मनोविज्ञान मधेसमा देखियो, यो लोकतान्त्रिक अभ्यासका लागि सुखद पक्ष हो ।’

तामझामसहित मनोनयन
जनकपुर– संविधान संशोधन नभएसम्म तराई–मधेसमा चुनाव हुन नदिने अडान राख्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएको राजपा, नेपालले तामझामका साथ धनुषाका १८ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन् । केही दलले उम्मेदवार पाउन नसकेर केही तहमा मात्रै मनोनयन दर्ता गराएका छन् ।
जनकपुर उपमहानगरपालिकामा मेयर पदका लागि पूर्वउपमेयर लालकिशोर साहले राजपाबाट उम्मेदवारी दिएका छन् । यस्तै उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका मनोज साह र माओवादी केन्द्रका चन्द्रशेखर साह पार्टीका जिल्ला नेता हुन् । एमालेबाट मेयरका लागि उम्मेदवारी दिएका लक्ष्मीनारायण भगत जिल्ला कृषि सेवा कार्यालयका पूर्वअधिकृत हुन् । उनले हालै अधिकृत पदबाट राजीनामा दिएका हुन् ।
प्रदेश नम्बर २ को प्रस्तावित राजधानी जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि बुधबार दुई स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार उम्मेदवारहरूले शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन् ।
७५ हजार ५ सय ९४ मतदाता रहेको जनकपुर उपमहानगरपालिकामा १ सय ३० जनप्रतिनिधि चयन हुनेछ । यसका लागि ५८ वटा मतदान स्थल र १ सय १ मतदान केन्द्र कायम गरिएको छ । ३ लाख ८९ हजार ३९१ मतदाता रहेको धनुषा जिल्लामा एक उपमहानगर, ११ नगर र ६ वटा गाउँपालिका छन् । जिल्लाभरि गरी ९ सय २९ जनप्रतिनिधि चयन गर्न ५ सय ३२ मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले बताए ।

आआफ्नै दाबी
महोत्तरी– महोत्तरीका १५ वटै निर्वाचन अधिकृतको कार्यालयलमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारहरू आआफ्नो दलका  नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतका कार्यालय पुगेका थिए । कतै ब्यान्डबाजाको धुनमा नाच्दै कतै डिजे साउन्डमा कमर मरक्याउँदै मनोनयन दर्तास्थलमा राजनीतिक दलका उम्मेदवार पुगेको दृश्य कुनै उत्सवभन्दा कम थिएन् । २० वर्षपछि हुन लागेको स्थानीय तह चुनावमा उम्मेदवार, कार्यकर्तामात्र होइन सर्वसाधारणमा पनि उत्साह देखियो । आआफ्नो दलका उम्मेदवारसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका कार्यकर्ताले जित आआफ्नै भएको दाबी गरिरहेको देखिन्थ्यो ।
निर्वाचन आयोगले बुधबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारीको समय तोकेको थियो । यो समयावधिभित्रै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत विभिन्न राजनीतिक दलका उम्मेदवारले पालैपालो विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
महोत्तरीका १५ स्थानीय तहमा १५ प्रमुख, १५ उपप्रमुख , एक सय ३८ वडाअध्यक्ष र ५ सय ५२ वडा सदस्य गरी ७ सय २० पदका लागि उम्मेदवारी दर्ता भएको छ । महोत्तरीमा ३ लाख ८ हजार ४ सय ४ मतदाता छन् ।
 

प्रतीक्षा असोज २ को
सप्तरी– दल र स्वतन्त्र उम्मेदवारले सप्तरीमा पनि अत्यन्त उत्साहका साथ उम्मेदवारी मनोनयन गराए । सप्तरीका १८ स्थानीय तहमा उम्मेदवारले निकै तामझामसाथ उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तासँगै मतदानको प्रतीक्षामा सर्वसाधारण छन् ।
प्रमुख दलहरूले समयमै वडास्तरका उम्मेदवारको टुंगो लगाउन ढिला गरेका  कारण जिल्लाभर नै उम्मेदवारी दर्ता प्रक्रिया निकै ढिलो सुरु भएको थियो । सबैजसो दल प्रमुख÷मेयरको उम्मेदवार टुंगो लगाउनमै अन्तिम समयसम्म व्यस्त रहेकाले बुधबार बिहानसम्म वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारको टुंगो लागेको थिएन ।
केही स्वतन्त्र उम्मेदवारबाहेक प्रमुख राजनीतिक दलका उम्मेदवार दिउँसो २ बजेपछि मात्रै उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।  प्रायः केन्द्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने लाममा थिए । ‘उम्मेदवारको लाम हेरिरहेको छु, दर्ता गर्दागर्दै राति पनि हुनसक्छ’, तिलाठी कोइलाडी केन्द्रमा खटिएका सोही गाउँपालिकाका कार्यकारी अधिकृत सरोजकुमार झाले भने, ‘५ बजेसम्म लाममा बसिसकेका उम्मेदवारको मनोनय दर्ता गर्नुपर्ने हुन्छ ।’
१८ वटै स्थानीय तहमा कांग्रेस, माओवादी, एमाले, संघीय फोरम, राजपा, फोरम लोकतान्त्रीकलगायत दलसँगै स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गराएका छन् । बस, साना गाडी, ट्र¥याक्टर, सिटी रिक्सा, मोटरसाइकललगायत सवारी साधनमा ठूलो संख्यामा कार्यकर्तासहित उम्मेदवार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनीहरूले आआफ्नो पार्टी र उम्मेदवारका पक्षमा नाराबाजी समेत गरिरहेका थिए । मनोनयनस्थलमा महिलाको पनि उल्लेख्य उपस्थिति थियो ।  

टिकट विवादमा कुटाकुट
सिरहा– नेपाली कांग्रेस जिल्ला कार्यालय सिरहामा बुधबार दिउँसो  कार्यकर्ताबीच झडप भएको छ । टिकटको विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कार्यालयमै झडप भएको हो ।   
क्षेत्र नम्बर ३ का सभापति सञ्जयप्रकाश यादव पार्टी कार्यालयमा वडाअध्यक्ष र सदस्यको टिकट लिन पुग्दा झडप भएको थियो । ‘मंगलबार टिकट दिनभन्दा सभापतिले बुधबार बिहान ७ बजे दिन्छु भन्नुभएको थियो,’ सञ्जयले भने, ‘बुधबार आउँदा आलटाल गरेर झडप निम्त्याउनुभयो । म र सांसद गणेश मण्डल बसेर कुराकानी गरिरहेकै समयमा एक हुल मानिस आएर हमला गरे ।’ यो घटनाको पछाडि पार्टी सभापतिको कमजोरी कारण रहेको उनको भनाइ छ ।
सभापति रामचन्द्र यादवले भने, ‘वडाध्यक्ष र सदस्यको टिकट आकांक्षी दुवैपक्षबीच छलफल गरेर दिने भनेको थिएँ, अचानक झडप सुरु भैहाल्यो ।’ उनले यो घटनालाई पार्टीभित्रको समान्य मतभेदका रुपमा अथ्र्याए । सिरहा नगरपालिकामा कांग्रेसबाट मेयर उम्मेदबार डा. शुभाषचन्द्र यादवले भने, ‘सामान्य विषयमा पार्टीका कार्यकर्ता घाइते हुनेगरी भएको यो घटना दुःखद हो । केन्द्रबाटै वडाको टिकट वितरण गर्ने अधिकार क्षेत्रीय समितिलाई दिइसकेपछि त्यसमा विवाद खडा गर्नु नै यो घटनाको कारण हो ।’ सिरहा–२२ का वडाध्यक्ष र सदस्यले  घटनापछि टिकट पाएका थिए । उनीहरू सबैले मनोनयन दार्ता गराइसकेको मेयरका उम्मेदवार यादवले बताए ।
झडपमा राजेश्वर यादव, जगदीश यादव, रामबाबु यादव, सञ्जयप्रकाश यादव, सकलदेव यादवसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिरहाका एसपी शेखर कोइरालाले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका राजेश्वरलाई जिल्ला अस्पताल सिरहामा प्राथमिक उपचारपछि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको क्षेत्रीय सभापति सञ्जयले बताए ।

शान्तिपूर्वक मनोनयन
रौतहट– जिल्लाका सबै स्थानीय तहमा शान्तिपूर्वक मनोनयन दर्ता सम्पन्न भएको छ । जिल्लाका १६ नगरपालिकामा मेयर तथा उपमेयर, २ गाउँपालिकामा प्रमुख तथा उपप्रमुख, १ सय ५७ वडाध्यक्ष र ६ सय २८ वडा सदस्यगरी ८ सय २१ पदका लागि जिल्लामा सक्रिय सबै दलले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा भएको सुरक्षा निकायले जनाएको छ ।
मनोनयन दर्ता गराउने उम्मेदवारले भोजभतेर पनि गरेका छन् । पार्टीले सामूहिक रुपमा भोजको आयोजना गरी दलीय हैसियत प्रदर्शन गरेका छन् ।
 

गौरमा कांग्रेसको उम्मेदवारी परेन
नेपाली कांग्रेसले रौतहटको सदरमुकाम गौर नगरपालिकामा उम्मेदवारी दिएन । विगतमा गौरमा कांग्रेस नै निर्वाचित भएको थियो । यसपटक कांग्रेसले उपमेयरमा मात्र उम्मेदवारी दिएको छ । कांग्रेसबाट उपमेयरमा वीरबहादुर साहले मनोनयन दर्ता गराएका छन् ।

माओवादीबाट नयाँ अनुहार
गौरमा माओवादी केन्द्रले राजनीतिमा कहिल्यै नदेखिएका व्यक्तिलाई मेयर पदको उम्मेदवार बनाएको छ । टैंटीदेवी ठाकुरलाई माओवादी केन्द्रले मेयरको उम्मेदवार बनाएको छ ।

शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता
बारा– जिल्लामा राजनीतिक दलका उम्मेदवारले शक्ति प्रदर्शन गर्दै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयपत्र दर्ता गराउने क्रममा आआफनो पक्षमा बलियो जनअधार रहेको देखाउन उम्मेदवारले बाजागाजासहित हजारौको संख्यामा समर्थकलाई सडकमा उतारेर शक्ति प्रदर्शन गरेका थिए । कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिकालगायत १६ वटा स्थानीय तहमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलले उम्मेदवारी दर्ता गराएका छन् । निजगढ नगरपालिकामा कांग्रेसको र नेकपा माओवादीबीच गठबन्धन भएको छ ।  
जिल्लामा दुइटा उपमहानगरपालिका, पाँच  नगरपालिका र नौवटा गाउँपालिका छन् । चुनावलक्षित गरी जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
 

वीरगन्ज मेयरमा १८ उम्मेदवार
वीरगन्ज– वीरगन्ज महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रसँगै १८ र उपमेयरमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पदमरोडस्थित जिल्ला समन्वय समिति पर्सामा स्थापना गरिएको  मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर विभिन्न पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराए । मनोनयन दर्ता गनुअघि विभिन्न दलले बजारमा जुलुससहित शक्तिप्रदर्शन गरेका थिए । निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार नेपाली कांग्रेस, एमाले, संघीय समाजवादी फोरम नेपाल, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, नयाँ शक्ति पार्टी, नेकपा माले, नेपाली जनता दललगायतले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी स्वतन्त्रमा विकास राउत अहिर, छोटेलाल राउतकुर्मी, लक्ष्मण साह तेली, महम्मद रहुजा, देउकीलाल कानु, बिल्टु राम बरईले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय, पर्साले जानकारी गराएको छ ।
३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा एक लाख ८ हजार पाँच सय मतदाता छन् । एक सय ३२ दशमलव ७ वर्गकिलोमिटर क्षेत्रफलमा महानगरपालिका फैलिएको छ । यो क्षेत्रफल पुरानो वीरगन्जभन्दा साढे ६ गुणा बढी हो । साँझ ७ बजेसम्म दल तथा स्वतन्त्र उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन लाममै बसेको देखियो ।

प्रकाशित: २२ भाद्र २०७४ ०३:१७ बिहीबार

प्रदेश-२ उत्सवमय उम्मेदवारी