राजनीति

मनोनयन दर्ता उल्लासमय

पूर्वेली ब्युरो

विराटनगर- प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि बुधबार उल्लासपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्तालाई ‘उत्सव’ का रुपमा लिइयो। विभिन्न दलका उम्मेदवारले बाजागाजा र नाचगानसहित उम्मेदवारी मनोनयन गराएका छन् । मतदान असोज २ गते हुनेछ।

आठ जिल्ला रहेको प्रदेश नम्बर २ मा १३६ स्थानीय तह छन् । सबै स्थानीय तह्रमा भएको उम्मेदवारी दर्ता कुनै उत्सवभन्दा कम थिएन् । राजनीति खिचातानीले प्रदेश २ मा चुनाव हुने/नहुने आशंका व्याप्त रहेकै बेला उम्मेदवारी दर्तामा देखिएको उत्साहले मंसिरमा तोकिएको प्रदेश/केन्द्रको चुनावका लागि पनि सकारात्मक वातावरण बनेको विश्लेषण गरिएको छ ।

 ‘प्रदेश–२ मा भएको मनोनयन दर्ताले देशभर नै उत्साह थपेको छ,’ मधेस मामिला विश्लेषक विजयप्रसाद मिश्रले नागरिकसँग भने, ‘मधेसका जनता चुनाव, लोकतन्त्र र परिवर्तन पक्षधर रहेको यो एउटा पछिल्लो उदाहरण पनि हो ।’ लावालस्कर र दलबलसहित मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका उम्मेदवार पनि हर्षलेविभोर देखिन्थे । पार्टी कार्यालय र निवासबाटै दलबलसहित निस्केका उम्मेदवार उम्मेदवारी दर्ता गराउन पैदलै निर्वाचन कार्यालय पुगेका थिए।

 ‘मधेसमा पनि मतलाई उपयोग गर्ने सिद्धान्त देखियो,’ विश्लेषक मिश्रले भने, ‘पार्टी परिवर्तन गरेर भए पनि चुनाव चाहिँ लड्नेसम्मको मनोविज्ञान मधेसमा देखियो, यो लोकतान्त्रिक अभ्यासका लागि सुखद पक्ष हो ।’

मनोनयनमा तामझाम

जनकपुर– संविधान संशोधन नभएसम्म तराई–मधेसमा चुनाव हुन नदिने अडान राख्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएको राजपा, नेपालले तामझामका साथ धनुषाका १८ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन् । केही दलले उम्मेदवार पाउन नसकेर केही तहमा मात्रै मनोनयन दर्ता गराएका छन् ।

जनकपुर उपमहानगरपालिकामा मेयर पदका लागि पूर्वउपमेयर लालकिशोर साहले राजपाबाट उम्मेदवारी दिएका छन् । यस्तै उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका मनोज साह र माओवादी केन्द्रका चन्द्रशेखर साह पार्टीका जिल्ला नेता हुन् । एमालेबाट मेयरका लागि उम्मेदवारी दिएका लक्ष्मीनारायण भगत जिल्ला कृषि सेवा कार्यालयका पूर्वअधिकृत हुन् । उनले हालै अधिकृत पदबाट राजीनामा दिएका हुन् ।

प्रदेश नम्बर २ को प्रस्तावित राजधानी जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि बुधबार दुई स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार उम्मेदवारहरूले शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन् ।

७५ हजार ५ सय ९४ मतदाता रहेको जनकपुर उपमहानगरपालिकामा १ सय ३० जनप्रतिनिधि चयन हुनेछ । यसका लागि ५८ वटा मतदान स्थल र १ सय १ मतदान केन्द्र कायम गरिएको छ । ३ लाख ८९ हजार ३९१ मतदाता रहेको धनुषा जिल्लामा एक उपमहानगर, ११ नगर र ६ वटा गाउँपालिका छन् । जिल्लाभरि गरी ९ सय २९ जनप्रतिनिधि चयन गर्न ५ सय ३२ मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले बताए ।

आआफ्नै दाबी

महोत्तरी– महोत्तरीका १५ वटै निर्वाचन अधिकृतको कार्यालयलमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारहरू आआफ्नो दलका  नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतका कार्यालय पुगेका थिए । कतै ब्यान्डबाजाको धुनमा नाच्दै कतै डिजे साउन्डमा कमर मरक्याउँदै मनोनयन दर्तास्थलमा राजनीतिक दलका उम्मेदवार पुगेको दृश्य कुनै उत्सवभन्दा कम थिएन् । २० वर्षपछि हुन लागेको स्थानीय तह चुनावमा उम्मेदवार, कार्यकर्तामात्र होइन सर्वसाधारणमा पनि उत्साह देखियो । आआफ्नो दलका उम्मेदवारसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका कार्यकर्ताले जित आआफ्नै भएको दाबी गरिरहेको देखिन्थ्यो ।

निर्वाचन आयोगले बुधबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारीको समय तोकेको थियो । यो समयावधिभित्रै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत विभिन्न राजनीतिक दलका उम्मेदवारले पालैपालो विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

महोत्तरीका १५ स्थानीय तहमा १५ प्रमुख, १५ उपप्रमुख , एक सय ३८ वडाअध्यक्ष र ५ सय ५२ वडा सदस्य गरी ७ सय २० पदका लागि उम्मेदवारी दर्ता भएको छ । महोत्तरीमा ३ लाख ८ हजार ४ सय ४ मतदाता छन् ।

टिकट बाँडदै, उम्मेदवार बन्दै

सप्तरी– स्थानिय तह निर्वाचनका लागि बुधवार सप्तरीमा पनि अत्यन्त उत्साहका साथ उम्मेदवारले मनोनयन दर्ता गराए । सप्तरीका १८ वटै स्थानिय तह हरुमा उम्मेदवारहरुले निकै तामझामका साथ उम्मेदवारी दर्ता गराए ।

प्रमुख दलहरुले वडा स्तरीय उम्मेदवारहरुको टुंगो लगाउन नसकेका कारण जिल्ला भरी नै उम्मेदवारी दर्ता प्रक्रिया निकै ढिलो भएको थियो । सवै जसो राजनीतिक दलहरु प्रमुख पदकै उम्मेदवारको टुंगो लगाउनमै अन्तिम समय सम्म व्यस्त रहेकोले बुधवार विहान सम्म वडा अध्यक्ष तथा वडा सदस्य पदहरुको उम्मेदवारको टुंगो नै लगाउन सकिएको थिएन ।

केहि स्वतन्त्र उम्मेदवारहरु वाहेक प्रमुख राजनीतिक दलका उम्मेदवारहरु भने २ बजे पछि मात्रै उम्मेदवारी दर्ता गराउन पुगेका कारण समेत उम्मेदवारी दर्ता ढिलो भएको थियो । प्रायः जसो केन्द्रहरुमा साँझ ५ बजे सम्म उम्मेदवारी दर्ता गराउनेहरुको लाम निकै ठूलो देखिएको थियो ।

 ‘उम्मेदवारहरुको निकै लामो लाईन हेरिरहेको छु, दर्ता गर्दा गर्दै राति पनि हुन सक्छन’, तिलाठी कोईलाडी केन्द्रमा खटिएका सोहि गाउँपालिकाका कार्यकारी अधिकृत सरोजकुमार झाले भने, ‘५ बजे सम्म लाईनमा बसिसकेका उम्मेदवारहरुको मनोनय दर्ता गर्नुपर्ने हुन्छ ।’

  १८ बटै स्थानिय तहहरुमा काँग्रेस, माओवादी, एमाले, संघिय फोरम, राजपा, फोरम लोकतान्त्रीक लगायत प्रमुख दलहरुका साथै निकै संख्यामा स्वतन्त्र उम्मेदवारहरुले समेत उम्मेदवारी दर्ता गराएका छन् । बस, साना गाडी, ट्रायक्टर, सिटि रिक्सा, मोटरसाईकल लगायतका सवारी साधनहरुमा ठुलो संख्यामा कार्यकर्ताहरु सहित उम्मेदवारहरु उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

ठूल ठूला झण्डा, व्यानर, पार्टीको चुनाव चिन्ह अंकित टिसर्ट, टोपि लगाएर उम्मेदवारीमा स्थलमा जमा भएका पार्टीका नेता कार्यकर्ताहरु आ–आफ्नो पार्टीको पक्षमा नारावाजी समेत गरिरहेका थिए । महिलाहरुको पनि ठुलो संख्यामा सहभागिता रहेको थियो।

टिकट बिवादमा कुटाकुट

सिरहा-नेपाली कांग्रेसको जिल्ला कार्यालय सिरहामा बुद्यबार दिउँसो कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । स्थानीय तह निर्वाचनको टिकटको विषयमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कार्यालयमै झडप भएको हो।  

क्षेत्र नम्बर ३ का सभापति सञ्जय प्रकाश यादव पार्टी कार्यालयमा वडाअध्यक्ष र सदस्यहरुको टिकट लिन पुग्दा झडप भएको थियो । ‘मंगलबार टिकट दिन भन्दा सभापतीले बुद्यबार विहान ७ बजे दिन्छु भन्नुभएको थियो,’ सञ्यजयले भने, ‘बुद्यबार जाँदा आलटाल गरेर झडप निम्तयाउनु भयो ।’

म र सांसद गणेश मण्डल बसेर कुराकानी गरिरहेकै समयमा एकहुल मानिस आएर हमला गरे यादवले बुद्यवार नागरिकसँग भने,‘बाँसका चिरपट बोकेर आएकाहरुसँग निहत्था हाम्रा समर्थकहरु कसरी जित्नु ।’ यो सब घटनाको पछाडी पार्टी सभापतीको कमजोरी कारण रहेको उनको गुनासो छ ।

सभापती रामचन्द्र यादवले भने,‘वडाअध्यक्ष र सदस्यहरुको टिक दुबैपक्ष छलफल गरेर दिने भनेको थिए, अचानक झडप सुरु भैहाल्यो।’ उनले यो घटनालाई पार्टीभित्रको समान्य मतभेद भन्दै ढाकछोप गर्न खोजे ।

काँग्रेस नेता एवं सिरहा नगरपालिकामा काँग्रेसबाट मेयर उम्मेदबार डा. शुभाषचन्द्र यादवले भने, ‘समान्य विषयमा पार्टीका कार्यकर्ता घाईतेहुनेगरी भएको घटना दुःखद हो ।’ केन्द्रबाटै वडाको टिकट वितरण गर्ने अधिकार क्षेत्रीय समीतिलाई दिईसकेपछि त्यसमा बिवाद खडा गर्नु नै यो घटनाको कारण हो, उनले भने । सिरहा नगरपालिकाको २२ वडाका अध्यक्ष र सदस्यहरु घटनापछि टिकट पाएका थिए । उनीहरु सबैले मनोनयन दार्ता गराईसकेको मेयर उम्मेदवार यादवले बताए ।

झडपमा राजेश्वर यादव, जगदिश यादव, रामबाबु यादव, सञ्जय प्रकाश यादव, सकल देव यादव सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्याल सिराहका एसपी शेखर कोइरालाले जानकारी दिए । टाउँकोमा गम्भीर चोट लागेका राजेश्वरको जिल्ला अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचार धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको क्षेत्रीय सभापती सञ्जयले बताए।

प्रकाशित: २१ भाद्र २०७४ १४:०८ बुधबार

मनोनयन दर्ता उल्लासमय