राजनीति

संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्छौंः निजामति कर्मचारी युनियन

निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शुक्रवार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको कुरा सुनिएको भन्दै आफूहरुको अधिकार छाँटकाँट गर्नेकुरा किमार्थ स्वीकार्य नहुने बताए। उनले संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकास सहितको कर्मचारीमैत्री संघीय निजामति ऐन ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। उनले २०७५ सालमा समायोजन कर्मचारीको पक्षमा नभएको भन्दै एक पटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्ने माग गरे।  

उनले बन्दहड्ताल सहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेको भन्दै आफूहरुको अधिकार जस्ताको त्यस्तै आउनुपर्ने बताए। उनले अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणिबिहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखि नासुबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुपर्ने बताए। कार्यवाहक अध्यक्षसमेत रहेका कटुवालले ट्रेड युनियन अधिकार खुम्च्याउने गरी नल्याउन आग्रह गरे।

प्रकाशित: २२ भाद्र २०८० ०५:५९ शुक्रबार

निजामति कर्मचारी युनियन