राजनीति

एमाले सांसदद्वारा पार्टी कार्यालयमा तालाबन्दी

वीरगञ्ज – नेकपा एमाले पर्साको पार्टी कार्यालयमा पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित एमालेका सांसद बिचारी यादव नेतृत्वको असन्तुष्ट टोलीले सोमबार तालाबन्दी गर्दै धर्ना सुरु गरेको छ । टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी भएकालाई प्राथमिकता नदिएकोले तालाबन्दी गरेको भन्दै सांसद यादव लगायत कार्यकर्ताहरू तालाबन्दी गरेर धर्नामा उत्रेका हुन्।

वीरगञ्ज महानगरपालिका वडा नं. २० का प्रत्यासी रामकिसोर सिंहलाई टिकट नदिएको भन्दै उनका सर्मथकहरूले तालाबन्दी गरेका हुन् । ‘पैसाको चलखेल  भएको हुन सक्छ, यसमा जिल्ला संयोजक प्रभु हजराको हात छ,’ सांसद यादवले भने, ‘अब टिकटको कुरामा मनोमानी सहने कुृरा आउँदैन्, त्यसैले संघर्षमा उत्रिएको हो ।’ 

यसअघि जिल्लाबाट सिफारिसमा पनि नपरेका नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्दीन अन्सारीलाई बाहिरबाट ल्याएर एमालेले वीरगञ्जको मेयरको उम्मेद्वार बनाउने घोषणासँगै पुराना नेता सुन्दर कुर्मी लगायत पार्टी परित्याग गरी बाहिरिएका थिए । 

प्रकाशित: १९ भाद्र २०७४ १३:४४ सोमबार

एमाले सांसदद्वारा पार्टी कार्यालयमा तालाबन्दी