राजनीति

चुच्चे नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु नेपालको कर्तव्य होः अध्यक्ष नेपाल

फाइल तस्वीर

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदबाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने कर्तव्य भएको बताए।

उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नक्शाका बारेमा जानकारी गराउनु दायित्व पनि भएको उल्लेख गर्दै त्यसो गरे, नगरेको सम्बन्धमा सरकारलाई प्रश्न समेत गरे। उनले यदी अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रुपमा, कसरी गराइएको हो तत्कालिन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए।

उनले भने, ‘जानकारी गराइसकेको भइसकेपछि एक्लाएक्लै अनौपचारिक रुपमा गरिएको हो कि नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा पूर्व परराष्ट्रमन्त्रीजीले जानकारी गराउनुभएको हो। यदी गराउनुभएको हो भने परराष्ट्र मन्त्रालयबाट कसै न कसैको उपस्थिति भएको हुनुपर्दछ। यदि परराष्ट्र मन्त्रालयमा कुनै कर्मचारीको उपस्थिति थियो भने, कुनै अधिकारीको उपस्थिति थियो भने त्यसको रेकर्ड राख्नेगरेको चलन छ कि छैन? के के कुराहरु भयो भन्ने राख्ने  गरिन्छ कि गरिदैनँ? त्यो पनि एउटा जिज्ञासा छ। हाम्रो सिस्टमले कत्तिको काम गरिरहेको छ? आधिकारिक रुपमा सबै सूचनाहरु, तथ्य, तथ्यांकहरु रहने गरीएको छ कि छैन? छ भने त्यसको बारेमा पनि जानकारी होस्। मौखिक रुपमा उहाँले जानकारी गराएको हो कि होइन भन्ने वर्तमान परराष्ट्रमन्त्रीजीले सोध्नुभएको भए राम्रो हुन्थ्यो। त्यो बेलामा लिखित रुपमा चिठी पठाउने काम भयो, भएन? अरु सबै राजदूतसँग भएको हो कि एउटा देशको राजदुतसँग मात्रै भेटघाट, कुराकानी भएको हो? संसदबाट हाम्रो नक्सा पारित भइसकेपछि स्वभाविक रुपमा सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने नेपाल सरकारको कर्तव्य हुन्थ्यो। दायित्व हुन्थ्यो। त्यस अनुसार सबैलाई गराइयो गराइएन? त्यो गराइयो भने मौखिक मात्रै गराइयो कि? लिखित रुपमा प्रस्तुत गर्ने काम भयो, भएन? पछि लेखेर पठाउने काम हुनसक्यो सकेन। के भएको हो पहिले तथ्य कुरा थाहा पाउनुप¥यो। यस्ता कमजोरी भएका हुन् भने आउने दिनमा त्यस्ता कमजोरीहरु नदोहोरिउन भन्ने कुरामा विशेष ढंगले ध्यान आर्कषित हुनुपर्छ भन्ने लाग्दछ। यसलाई आयो, गयो भनेर छोड्ने काम नगरियोस्। कहाँबाट कमी, कमजोरी हुन गए ति कमी, कमजोरीहरुलाई राम्ररी खोजीनीति गरेर अहिलेलाई पुर्ताल गर्ने, पछिको निम्ति नदोहोरिने दुई वटै कुरा गर्नुपर्ने आवश्यकता छ।’

प्रकाशित: २१ भाद्र २०८० ०९:२१ बिहीबार

माधवकुमार नेपाल