राजनीति

लुम्बिनी प्रदेश सभाको बैठक एक महिनापछि बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ। प्रदेश सभाको दोस्रो अधिवेशनको २४ औँ बैठक आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ लाई अगाडि बढाउने तयारी रहेको प्रदेश सभाका प्रवक्ता ईश्वरी प्रसाद आचार्यले बताए।

प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको पनि उनले जानकारी दिए।  

यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो। समितिले उपसमिति गठन गरेर  विज्ञ तथा सरोकारवालहरूसँग राय सुझाव सङ्कलन गरेको थियो। सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो।

सभामा प्रतिवेदन पेस भएको २४ घण्टापछि बस्ने अर्को बैठकले विधेयक पास गर्न सकिने व्यवस्था रहेको छ।

प्रकाशित: २१ भाद्र २०८० ०४:४९ बिहीबार

लुम्बिनी प्रदेश सभा लुम्बिनी दोस्रो अधिवेशन प्रदेश निजामती सेवा