राजनीति

आचार संहिता उलंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयुक्तको आग्रह

कलैयामा आयोजित राजनितिक दल सम्बद्ध युवाहरूको लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त पौडयाल।   तस्बिर ः उपेन्द्र यादव

बारा – असोज २ गते हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्वाचन आचार संहिता उलंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयुक्त ईश्वरी पौडेलले मतदातालाई आग्रह गरेका छन् । 

कलैयामा आयोजित राजनीतिक दल सम्बद्ध युवाहरूको लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आयुक्त पौडेलले निर्वाचन आचार संहिता पालना नगर्ने पार्टीले समाजलाई राम्रो दिशा दिन नसक्ने भएकाले त्यस्ता पार्टी र उम्मेदवारलाई समयमै पाठ सिकाउनु पर्ने उनले बताए।  

आचार संहिता पालना नगर्ने र समाजमा भोटको कै लागि जे पनि गर्ने पार्टी र उनका उम्मेद्वारले जितेपछि स्थानीय तहमा सुशासन कायम राखी विकास गर्नु भन्दा पार्टीका कार्यकर्ता र आफ्नो गोजी मात्रै भर्ने कार्य गर्ने भएकोले त्यस्तो  उम्मेदवार समाजको भलो गर्न नसक्ने पौडेलले बताए । 

तेश्रो चरणमा गर्न भनिएको २ नं. प्रदेशको ८ जिल्लाको स्थानीय तहको निर्वाचनमा अन्य प्रदेशमा राम्रो नतिजा निकाल्न नसकेका दलहरुले यस प्रदेशमा राम्रो नतिजा निकाल्ने कार्यमा लाग्ने भएकोले यसले स्वच्छ र भय रहित निर्वाचनलाई चुनौती दिन सक्ने सम्भावना रहेको उनले बताए। 

भयरहित र स्वच्छ तरिकाले निर्वाचन सम्पन्न गराउन यस क्षेत्रका संचारकर्मीहरुको ठूलो भूमिका रहने भएकोले आफनो पेशा प्रति बफादार भएर संचारकर्मीहरुलाई सत्य तथ्य समाचार प्रकाशन गर्न समेत पौडेलले अनुरोध गरे । 
कुनै राजनितिक दलले आप्mना युवाहरूलाई परिचालन गरी अरु राजनीतिक दलका नेतालाई कुट्ने र अरुको चुनावी कार्यक्रम बिथोल्ने कार्य गर्न लगाउँदा त्यस्ता गतिविधिमा नलाग्न प्रशिक्षण कार्यमा संलग्न रहेका युवाहरूलाई सचेत गराए । 

प्रशिक्षण कार्यक्रममा उपसचिव सूर्य सिलवाल, निर्वाचन कार्यालय बाराका प्रमुख नरेश सर्राफ लगायत राजनीतिक दलका युवा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित: १८ भाद्र २०७४ ०६:५८ आइतबार

आचार संहिता उलंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयुक्तको आग्रह