राजनीति

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।

बुधबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि खुकुरी प्रहार गर्नेमाथि गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न माग गरेका हुन्।

आज भएको सांघातिक हमलालाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिएको छ। यो घटनाको नेपाली काँग्रेस घोर निन्दा र भत्र्सना गर्दछ, विज्ञप्तिमा लेखिएको छ, उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट निस्कने समयमा खुकुरी प्रहार भएको थियो।

उनलाई नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए।

उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

प्रकाशित: २० भाद्र २०८० ११:०३ बुधबार

नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादव