राजनीति

उम्मेदवारको टुंगो नलाग्दै कार्यकर्ताहरूलाई लाग्यो चुनाव

रौतहट – प्रमुख दलहरूले स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरे पनि कार्यकर्ताहरुलाई भने चुनावले छोपेको देखिएको छ । स्थानीय तहको उम्मेदवारको टुंगो लाग्न बाँकी रहेका नगरपालिका तथा गाउँपालिकाहरूमा चल्ने सवारी साधनमा विभिन्न पार्टीको रंगीचंगी झण्डा बोकेर कार्यकर्ताहरुले अघोषित प्रचारप्रसार गरिरहेको पाइएको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल लगायतका ठूला प्रतिस्पर्धी दलहरुले अहिलेसम्म रौतहटको सबै स्थानीय तहमा उम्मेदवार तय गर्न सकेको छैन । जिल्लामा अहिलेसम्म कुनै पनि पार्टीले सम्पूर्ण स्थानीय तहको उम्मेदवार तय गर्न नसके पनि सबै स्थानीय तहको जीप, कार, मोटरसाइकल, अटो रिक्सा, ई–रिक्सा र टाँगाहरुमा पार्टीको झन्डा तथा पार्टीको चुनाव चिन्ह फहराउँदै हिँड्ने कार्यकर्ताहरुको होडबाजी चलेको देखिएको छ।

नेकपा एमालले चन्द्रपुर नगरपालिकाको उम्मेदवार घोषणा गर्न सकेको छैन। नेपाली काँग्रेसले सदरमुकाम गौरलगायत अन्य कैयौँ नगरपालिकाको उम्मेदवार घोषणा गर्न बाँकी छ । माओवादी केन्द्रले औपचारिक रुपमा कुनै पनि स्थानीय तहको उम्मेदवार घोषणा गरेको छैन । तर काँग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरु भने पार्टीको झण्डा विभिन्न सवारी साधनमा झुन्ड्याएर अघोषित प्रचार युद्धमा जुटेको पाइएको छ । मुख्य राजमार्गदेखि सानातिना बजारसम्म झन्डाहरूको प्रदर्शनी बढेको देखिँदा उम्मेदवार तय हुन बाँकी नै रहे पनि गाउँ र बस्ती चुनावमय भएको देखिन्छ ।

संघीय समाजवादी फोरम नेपालको जिल्ला संयोजक धर्मेन्द्र पटेलले रौतहटको एघार स्थानीय तहमा उम्मेदवार घोषणा गरिएको र बाँकी सात स्थानीय तहमा चयनको प्रक्रियामा रहेको बताउँदै उम्मेदवार चयन गर्न बाँकी रहेको स्थानीय तहमा पनि कार्यकर्ता र नेतालाई चुनाव लागेकोले उम्मेदवारको नभई पार्टीको प्रचार भइरहेको खुलासा गरेका छन्।

चुनावमा जाने निर्णय गरेर अरु पार्टीभन्दा पछि निर्वाचनमा होमिएको राजपा नेपालले कतै पनि उम्मेदवारको घोषणा गरेको छैन । राजपा नेपाल उम्मेदवारको आकांक्षी धेरै हुँदा मिलाउने क्रममा रहेको जिल्ला संयोजक मण्डलका शेख जमशैदले बताएका छन् । पार्टीको टिकट नपाउँमा असन्तुष्ट बन्नेको संख्या बढ्ने सम्भावना भएकोले सबै पक्षलाई मिलाउन केही विलम्ब भए पनि कार्यकर्ताहरुमा उत्साह भरिएकाले आफ्ना सबारी साधनमा झण्डा र चुनाव चिन्ह बोकेर हिँड्न थालेको बताएका   छन् । एक दुई दिनमै राजपाले सबै तहको उम्मेदवारको घोषणा गर्ने जमशैदको दाबी छ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्ला पूरै निर्वाचनमय हुन पुगेको छ । सर्वसाधारणमा देखिएको उत्साहले निर्वाचन उत्सव बन्दै गइरहेको नागरिक समाज गरुडाका मनोजकुमार चौधरीको भनाइ छ । विभिन्न राजनीतिक दलको कार्यकर्तामा मात्र नभएर सर्वसाधारण नागरिकमा पनि निर्वाचनप्रति उत्साह बढेको चौधरी बताउँछन् ।

बकरिदको शुभकामनासँगै चुनावको प्रचार

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको मुखैमा आएको मुस्लिम समुदायको दोस्रो मुख्य पर्व बकरिद पनि चुनावमय भएको छ । स्थानीय तहमा अस्तित्वमा रहेका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु बकरिदलाई पनि निर्वाचनको तयारी र प्रचारको रुपमा उपयोग गरेका छन् । तीन दिनसम्म मनाइने बदरिदको अवसरमा उम्मेदवारहरुले मुस्लिम समुदायलाई शुभकामना दिन घरदैलोसम्म पुगेका छन् । यसै गरी मुस्लिम समुदायका उम्मेदवारहरुले पनि बकरिदलाई शुभकामना आदानप्रदानका साथै चुनावको प्रचारको रुपमा उपयोग गरेका छन् । सर्वसाधारणलाई दावत (निम्तो) मान्न बोलाउने प्रचलन रहेकोले मुस्लिम समुदायले चुनावको लागि भरपूर उपयोग गरेको पाइएको संघीय समाजवादी फोरम नेपालका कौशर खान मिथिलाले बताएका छन् । चुनावको मुखैमा परेको बकरिदको रौनक पहिलेको वर्षहरुभन्दा निकै बढेको मुस्लिम अगुवाहरुको भनाइ छ ।

प्रकाशित: १७ भाद्र २०७४ १३:०० शनिबार

उम्मेदवारको टुंगो नलाग्दै कार्यकर्ताहरूलाई लाग्यो चुनाव