राजनीति

क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन फोरमको माग

काठमाडौं- संघीय समाजवादी फोरम, नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन माग गरेको छ। फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिवेदनले जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई विगारेको, मधेसमा मधेसी वाहुल्य क्षेत्रहरुलाई टुक्राटुक्रा गरी गैरमधेसी वहुल क्षेत्रमा गाभ्ने काम गरी मधेसमा मधेसी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास उल्लेख गरिएको छ।

यादवले प्रतिवेदनले मधेसी समुदायलाई विभेद गरेको बताएका छन्। ५१ प्रतिशत जनसंख्या रहेको तराई मधेसमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहका आधारमा ४७ प्रतिशतमा सिमित गरिएको भन्दै फोरमले आपत्ति जनाएको छ। मधेसमा गैरमधेसी समुदायको वर्चस्व कामय गर्नेगरी अधिकांश क्षेत्रको पुनर्सचना गरिएको र पहाडी र हिमाली क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई समेत न्यून गर्ने षडयन्त्र भएको भन्दै फोरमले आपत्ती जनाएको छ।

आयोगले स्वतन्त्र, निष्पक्ष र विभेदरहित ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेमा नेपाली कांग्रेसको स्वार्थपूर्ति हुनेगरी क्षेत्र निर्धारण गरेको फोरमले आरोप लगाएको छ।

प्रकाशित: १६ भाद्र २०७४ ११:२६ शुक्रबार

क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन फोरमको माग