राजनीति

अन्तरघाती पत्ता लगाउन एमालेको छानबिन समिति

खोटाङ – नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेद्वारलाई हराउनका लागि घात/अन्तरघात गर्ने नेता तथा कार्यकर्ताका विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । स्थानीय तहको परिणाम लगायतका विषयमा समिक्षा गर्न गत भदौ १०, ११ र १२ गते बसेको एमालेको नवौं पूर्ण बैठकले आधिकारिक उम्मेद्वारलाई हराउनका लागि गतिविधि गर्ने नेता तथा कार्यकर्ताको विषयमा छानबिन र कारबाही सिफारिस गर्नका लागि एमाले वैकल्पिक केन्द्रीय सदस्य राजन राईको संयोजकत्वमा छानबिन समिति गठन गरिएको एमालेले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। 

पार्टीका आधिकारिक उम्मेद्वारलाई हराउनका लागि गतिविधि सञ्चालन गरेका कतिपय नेता तथा कार्यकर्ताका विरुद्धमा उजुरी परेकाले छानबिन गर्न र दोषी प्रमाणित भए कारबाहीका लागि सिफारिस गर्नका लागि अन्तरघात सम्बन्धी छानबिन समिति गठन गरिएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए । छानबिन समितिमा एमाले प्रदेश संगठन कमिटीका सदस्य हरिकुमार पोखरेल र जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल सदस्य छन् । छानबिन समितिलाई ४५ दिनभित्र सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको एमालेले जनाएको छ । 

एमालेले पार्टीको आधिकारिक उम्मेद्वारका विरुद्ध बागी उम्मेद्वार दिने ६ नेतालाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा केपीलासगढी गाउँपालिकामा पार्टीको आधिकारिक उम्मेद्वार विरुद्ध बागी उम्मेद्वार दिएकामा एमालेले जिल्ला कमिटी सदस्य हरिचन्द्र राई, रुपाकोट मझुवागढी नगरपालिकामा बागी उम्मेद्वार दिने सल्लाहकार समिति सदस्य अञ्चलकुमार राई, जिल्ला प्रतिनिधि परिषद सदस्य नन्दप्रसाद घिमिरे, जिल्ला कमिटि सदस्य ढाकप्रसाद लुईटेल, जन्तेढुंगा गाउँपालिकामा गाउँपालिका उपप्रमुखको विरुद्धमा उम्मेद्वारी दिने जिल्ला कमिटी सदस्य सरिता राई र साकेला गाउँपालिकामा बागी उम्मेद्वार दिने जिल्ला कमिटी सदस्य रामकृष्ण खड्कालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो । आधिकारिक उम्मेद्वार विरुद्ध बागी उम्मेद्वारी दिने नेतालाई कारबाहीका लागि यसअघि जिल्ला कमिटी सचिवालयले कारबाहीका लागि गरेको सिफारिसलाई एमाले जिल्ला कमिटीले अनुमोदन गरेको जनाएको छ । केपीलासगढी गाउँपालिकामा बागी उम्मेद्वारी परे पनि एमालेकै उम्मेद्वार कृष्णकुमार राई गाउँपालिका प्रमुखमा विजयी भएका थिए । यस्तै, जन्तेढुंगा गाउँपालिकामा उपाध्यक्षमा बागी परे पनि एमालेको आधिकारिक उम्मेद्वार विमला राई विजयी भएकी थिइन्। 


विपक्षीको घेराबन्दीका कारण अपेक्षित परिणाम नआएको निष्कर्ष 

नेकपा एमाले खोटाङले विपक्षीको चौतर्फी घेराबन्दीका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ । स्थानीय तहको निर्वाचनमा विपक्षी पार्टीले अप्राकृतिक साँठगाँठ र आर्थिक चलखेल गरेका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम हात नपरेको एमालेले निष्कर्ष निकालेको हो । स्थानीय तहको परिणाम लगायतका विषयमा समिक्षा गर्न बसेको बैठकले एमालेलाई एक्लो बनाउने रणनीति अनुसार विपक्षी पार्टीले तालमेल गर्दा अपेक्षित जीत प्राप्त गर्न नसकिएको निष्कर्ष एमालेले निकालेको जनाएको छ। 

एमालेको दिक्तेलस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चामलिङले पार्टीभित्रकै केही सांगठनिक कमजोरी, ठाउँ–ठाउँमा आधिकारिक उम्मेद्वार विरुद्ध बागी र विद्रोही उम्मेद्वार उठ्नु, पार्टीभित्रै अन्तरघात हुनु लगायतका कारणले पनि पार्टीले सोचेजस्तो मत ल्याउन नसकेको बताए । ‘जसरी पनि एमालेलाई एक्ल्याउने र हराउने प्रवृत्ति खोटाङमा पनि देखियो,’ अध्यक्ष चामलिङले भने, ‘तर, विपक्षीको साँठगाँठ मात्र हाम्रो पराजयको कारण होइन । हामी भित्रै पनि कमीकमजोरी रह्यो । जसका कारण हामीले स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालिएको छ।’ 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा एक नगरपालिका र चार गाउँपालिकामा प्रमुख तथा दुई गाउँपालिकामा उपप्रमुख जितेर जिल्ला समन्वय समिति एकलौटी बनाएपनि एमाले सन्तुष्ट हुन सकेको छैन । कतिपय गाउँपालिकामा टिकट वितरणमा देखिएको समस्याका कारण पनि हार व्यहोर्नु परेको एमालेको निष्कर्ष छ । २०७० सालको निर्वाचनमा दुबै निर्वाचन क्षेत्रमा जित प्राप्त गरेको एमालेले १० पालिकामा ९ पालिकामा जीत प्राप्त गर्ने दाबी गर्दै आएको थियो। 

एमालेले स्थानीय तहको निर्वाचनपछि १० वटै पालिकामा भदौ २८ गते एकै दिन निर्वाचित जनप्रतिनिधि, पार्टीका पराजित उम्मेद्वार र अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । प्रशिक्षणका लागि जिम्मेवारी बाँडफाँड गरिएको एमालेले जनाएको छ । पत्रकार सम्मेलनमा सांसद विशाल भट्टराई, सांसद पिके राई लगायतले आसन्न प्रदेश र केन्द्रको निर्वाचनका लागि कटिबद्ध भएर लाग्ने बताए। 

प्रकाशित: १४ भाद्र २०७४ १४:२५ बुधबार

अन्तरघाती पत्ता लगाउन एमालेको छानबिन समिति