राजनीति

क्रान्तिकारी सम्मेलनमा १ करोड खर्च

काठमाडौं- सत्तारूढ माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनमा १ करोड रुपैयाँबराबर खर्च हुने भएको छ। प्रतिनिधि विवादले दुई दिन सम्मेलन लम्बिएका कारण क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा करिब १ करोड खर्च हुने भएको हो। सर्वहारा पार्टीको भ्रातृ संस्थाको सम्मेलन खर्चिलो हुनबाट रोक्ने भन्दै क्रान्तिकारीले पहिलोपटक उम्मेदवारी मनोनयनअघि आकांक्षीलाई चुनाव प्रचारप्रसारमा रोक लगाए पनि खर्च भने रोक्न सकेन।

प्रतिनिधि विवादले दुई दिन सम्मेलन लम्बिएका कारण क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा करिब १ करोड खर्च हुने देखिएको छ।

'६० लाख रुपैयाँमा सम्मेलन सम्पन्न गर्ने योजना बनाइएको थियो तर सम्भव भएन, ८० लाख त यसै पुग्ने देखियो,' अध्यक्षका प्रत्यासी रञ्जित तामाङले नागरिकसँग भने। उनका अनुसार अन्य उम्मेदवार र प्रतिनिधिले गरेको व्यक्तिगत खर्च करिब १ करोड हुने देखिएको छ।

प्रतिनिधिका लागि खाना र होटलमा बस्ने व्यवस्था आयोजक समितिले मिलाएको छ। सम्मेलनका ४जना प्रतिनिधिबराबर ७ सय ४० बास खर्च छुट्याइएको छ भने खानाका लागि नियमित क्याटरिङको व्यवस्था गरिएको छ। वाल्मीकि क्याम्पसमा उद्घाटन कार्यक्रम राखिए पनि झरी परेकाले पार्टी प्यालेसमा भएको थियो। सम्मेलन कीर्तिपुरमा जारी छ।

भदै ७ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेको उक्त सम्मेलन एक सातासम्म चलाएर १३ गते सकिँदैछ। प्रतिनिधि विवादले सम्मेलन दुई दिन लम्बिन पुगेको छ। 'सम्मेलनका प्रतिनिधिमा दाबी विरोध धेरै परेकाले भोलि (सोमबार) सम्म प्रतिनिधि विवाद टुंग्याएर उम्मेदवारी मनोनयन गर्नेछौं,' निर्वाचन समितिका अध्यक्ष रमेश मल्लले नागरिकसँग भने, 'लेबी नतिरेको, नक्कली प्रतिनिधि भएर आएको जस्ता दाबी विरोध बढेपछि निर्धारित समयमा उम्मेदवारी मनोनयन हुन नसकेको हो।' उनका अनुसार सोमबार बिहानसम्म प्रतिनिधि विवाद सल्टाएर मनोनयन सुरु हुनेछ।

नयाँ नेतृत्वका लागि मुख्यतः रञ्जित तामाङ र अनिल शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ। तामाङको टोलीलाई पार्टी अध्यक्ष दाहालनिकट नेताहरूले समर्थन गरेका छन् भने। शर्मा गृहमन्त्री जनार्दन शर्माका सहोदर भाइ हुन्। तामाङको प्यानलमा सुरेन्द्र बस्नेत, मदन चुडालसहित महासचिवका दाबेदार दीपेश पुनलगायत छन्। पुन उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र हुन्। गृहमन्त्री शर्माले भाइलाई जिताउन अनावश्यक हस्तक्षेप गरेको भन्दै आलोचना सुरु भएको छ भने तामाङ पक्षलाई भने प्रतिनिधि संख्या बढाएको आरोप लगाएको छ।

क्रान्तिकारीको २ सय ४३ सदस्यीय केन्द्रीय समितिमा १ अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, १६ सचिव, १ कोषाध्यक्षसहित ३३ पदाधिकारी चयन हुनेछन्। हाल क्रान्तिकारीको ९ सय ९९ सदस्यीय केन्द्रीय समिति छ। 'राष्ट्रियता र समाजवादी शिक्षा' मा जोड दिँदै सुरु भएको  सम्मेलनले पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन गर्नेछ।

रामेश्वरराय माओवादीमा पस्दै

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम परित्याग गरेका रामेश्वरराय यादव माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्।

यादवको गृहजिल्ला सर्लाही पुगेर उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराउने पोलिटब्युरो सदस्य श्रवण यादवले बताए। 'रामेश्वरजीलाई सर्लाहीमा एक कार्यक्रम गरी भदौ १४ गते पार्टी प्रवेश गराउने कार्यक्रम तय भइसकेको छ,' श्रवणले नागरिकसँग भने, 'उहाँलगायत अन्य पार्टीका नेता पनि माओवादीमा प्रवेश गर्दैछन्।' उनका अनुसार फोरमका पूर्वसांसद श्रीपुजन राय यादवलगायत माओवादी केन्द्रमा प्रवेश गर्दैछन्। श्रीपुजनले पहिलो संविधानसभा चुनावमा तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई पराजित गरेका थिए।

प्रकाशित: १२ भाद्र २०७४ ०३:१६ सोमबार

क्रान्तिकारी सम्मेलनमा करोड खर्च