राजनीति

न्यूनतम पारिश्रमिक सबै मिडियामा लागू हुन्छ: सञ्चारमन्त्री

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई आज यहाँ सम्मान तथा बधाई ज्ञापन गर्दै मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि मन्त्रालयले ‘मिडिया हाउस’लाई सहयोग गर्ने बताए।

“श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेर मिडिया हाउसले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ र मन्त्रालयले पनि ती मिडिया हाउसलाई सहयोग गर्नुपर्छ”, मन्त्री बस्नेतले भने। मन्त्रालयका अनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयन भए/नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले अनुगमन गरिरहेको छ।
मन्त्री बस्नेतले महासङ्घका संस्थापक सभापतिसमेत रहेका सन्त नेता स्व कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान जतिसक्दो चाँडो बनाउने पनि जानकारी दिए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ मिडियाको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताए।

सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले लोकतन्त्रलाई बचाउँदै संस्थागत विकास गर्न सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहेको बताए।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, नियुक्त पत्र, भौतिक तथा पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताका कटिबद्ध भएर अगाडि बढ्ने बताए।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले समेत आज महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ। रासस

 

प्रकाशित: ११ भाद्र २०७४ १२:२२ आइतबार

न्यूनतम पारिश्रमिक सबै मिडियामा लागू हुन्छ सञ्चारमन्त्री