राजनीति

‘एमालेलाई घेराबन्दीमा पार्न सकिएला, चक्रव्यूहमा सकिँदैन’

वर्तमान सरकार विदेशीको इशारामा चलेको छ: विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार विदेशीको इशारामा चलेको आरोप लगाएका छन्।

आज देखि बुटवलमा सुरु भएको पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले विदेशी शक्ति केन्द्रको इशारामा चलेको सरकारबाट राष्ट्र र जनताको हित हुन नसक्ने बताए।

सरकारमा बसेकालाई एमाले बलियो बन्ला कि भन्ने पिर मात्रै रहेको भन्दै नेता पौडेलले सत्तापक्षले एमालेविरुद्ध गरेको मोर्चा बन्दीमा विदेशी शक्ति केन्द्रले खेलेको बताए।

‘सत्तामा बस्नेहरूले एमाले विरुद्ध मोर्चा बन्दी गरिरहेका छन् र त्यो मोर्चा बन्दीमा शक्ति केन्द्रहरू खेलेका छन्, त्यसलाई चिर्न पार्टीपंक्ति एकताबद्ध हुन जरुरी छ’ नेता पौडेलले भने। 

सबैतिरबाट घेराबन्दीमा पार्न खोजी पनि एमालेलाई चक्रव्यूहमा पार्न भने कसैले नसक्ने दाबी उनले गरे।

‘एमालेलाई घेराबन्दीमा पार्न सकिएला तर चक्रव्यूहमा पार्न कसैले सक्दैन’ उनले भने।

आम कार्यकर्ताले सांगठनिक एकता खोजेकाले लुम्बिनी प्रदेश अधिवेशनले हार्दिकता र एकताको सन्देश दिने बताए। एकतामै नेकपा एमालेको भविष्य निर्भर रहेको भन्दै उनले पार्टी र गुट फरक विषय भएको बताए। ४५ वर्षदेखिको पूर्णकालीन राजनीतिमा आफूले कहिल्यै गुटबन्दी गरेर नहिँडेको दाबी पनि पौडेलले गरे।

एमालेमा अहिले नै केपी ओलीको विकल्प सोच्न नसकिने भन्दै उनले ओलीको विकल्पको कुरामा सत्यता नभएको पनि बताए।

गत चुनावको प्रसङ्ग उल्लेख गर्दै उपाध्यक्ष पौडेलले पार्टी भित्र घात अन्तर्घातको प्रवृत्ति भने बाँकी रहेको बताए।

‘जित्नै पर्ने ठाउँमा हारेको र जितेका ठाउँमा पनि बल्ल बल्ल जितेको अवस्था गत चुनावमा देखियो, एमालेमा रहेर आफ्नो जिम्मेवारी पुरा नगर्ने, विरोधीसँग गठजोड गर्ने छुट अब कसैलाई हुनुहुँदैन, विगतका यस्ता कमजोरीको समीक्षा हुनुपर्दछ’ नेता पौडेलले भने।

प्रकाशित: १६ भाद्र २०८० १२:०० शनिबार

विष्णु पौडेल