राजनीति

भूकम्पमा भत्किएका विद्यालयको तत्काल निर्माण सुरु: शिक्षामन्त्री श्रेष्ठ

गोरखा- उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले भूकम्पमा भत्किएको र अहिले सम्म कसरी निर्माण गर्ने भन्ने टुङ्गो नलागेका विद्यालयहरु तत्काल निर्माण सुरु गर्ने बताएका छन्। गत वर्ष दुई सय ५० विद्यालय निर्माण भईसकेको बताउँदै उनले भूकम्प प्रभावित जिल्लामा पुन निर्माणको कामलाई गती दिने बताए। ‘एक वर्ष भित्र भूकम्पमा भत्किएको विद्यालय निर्माण सम्पन्न हुने विश्वास छ’ उनले भने। उपप्रधान एवं शिक्षामन्त्री श्रेष्ठले शुक्रवार गोरखालाई शाक्षर जिल्ला घोषणा गर्दै यस्तो बताएका हुन्।

देश संघीयता कार्यान्वयनको चरणमा रहेको र प्रदेश र केन्द्रिय निर्वाचन भएसँगै संविधान कार्यन्वय हुने तर्क गरे। मुलुकमा एकपछि अर्को भूकम्प, बाढी लगायतका बिपत्ती आईरहेकाले सबै दल मिलेर समृद्धी तर्फ अगाडी बढाउनुपर्ने बताए। ‘मुलुकलाई पुन निर्माण गर्नु छ, बनाउनु छ’ उनले भने । शिक्षा पद्धतीलाई परिवर्तन गरेर ब्यवशायी शिक्षा तर्फ अगाडी बढ्नुपर्ने धारण राख्दै थपे ‘कोरा शिक्षा दिएर सर्टिफिकेटले झोला भरेर हुँदैन, ब्यवाहारिक ज्ञान दिनुपर्छ’ उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले भने। अस्थायी शिक्षकको समस्या प्रति इङ्कित गर्दै उनले भने सबै योग्यता पुगेका अस्थायी शिक्षकले परीक्षमा भाग लिन पाउने बताए। ‘परीक्षामा उत्तिर्ण भएकाहरु स्थायी हुनेछन् भने अनुत्तिर्ण भएकाहरु गोल्डेन ह्याण्ड चेक लिएर घर जानेछन’ उनले थपे।

 जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीका अनुसार १५ देखि ६० वर्ष उमेर भित्रका एक लाख ४१ हजार सात सय १४ जना साक्षर रहेको ठहर गर्दै गोरखालाई साक्षर घोषणा गरिएको हो। जिल्ला शिक्षा समितिले केही समय अघि जिल्लालाई साक्षरण घोषणा गरिसकेपनि औपचारीक घोषणा भने शिक्षामन्त्री श्रेष्ठले शुक्रवार गोरखा आएर गरेका हुन्। ९७ दशमलव २ प्रतिशत साक्षर भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। चार हजार ७९ जना भने निरक्षर रहेका छन्। शिक्षा  मन्त्रालयको मापदण्ड अनुसार ९५ प्रतिशत भन्दा माथि साक्षरता दर पुगेपछि घोषणा गर्न मिल्ने भएकाले गोरखा ३८ औँ साक्षर जिल्लाको रुपमा घोषणा भएको हो ।

कार्यक्रममा जिशिअ सुवेदीले भुकम्पपछिको पुन निर्माणका क्रममा अझै एक सय ४९ विद्यालय कसरी निर्माण गर्ने भन्ने टुङ्गो नभएकाले ब्यवस्थापन गर्न समस्या भएको गुनासो गरेका थिए। ३१ वटा माध्यामिक र ४९ वटा निम्नमाध्यामिक विद्यालयमा दरबन्दीमा शिक्षक दिन नसकेको कारण गुणस्तर अपेक्षा अनुसार सुधार गर्न नसकेको चिन्ता ब्यक्त गरे।

प्रकाशित: ९ भाद्र २०७४ १३:५२ शुक्रबार

भूकम्पमा भत्किएका विद्यालयको तत्काल निर्माण सुरु शिक्षामन्त्री श्रेष्ठ