राजनीति

विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ: ऊर्जा मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्। 

मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताएका हुन । उनले सञ्चारकर्मीमाझ सो जानकारी गराएका हुन। 

ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेश गर्न लागेको मन्त्री बस्नेतको भनाई छ। उनले सो विधेयक चालु संसद अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत क्षेत्रको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। 

मन्त्री बस्नेतले सो विधेयकलाई चालु संसद अधिवेशनबाटै पारित गराउने गरी सांसदहरूसँग औपचारिक÷अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत जानकारी गराए।मन्त्री बस्नेतले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरूको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पारे। 

प्रकाशित: १५ भाद्र २०८० ०८:२४ शुक्रबार

विद्युत विधेयक ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत संसद सञ्चारकर्मी