राजनीति

माछाको अर्थ-राजनीति

यस्तो पनि!

सन् १९९० को दशकमा बेलायतमा ‘म्याड काउ’ रोग लागेपछि मासुको बिक्री ह्वात्तै घट्यो। कतिसम्म भने त्यो बेलाको मासुको अर्थतन्त्र नै गडबडायो। अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन तात्कालीन कृषि मन्त्री जोन गुमरले एउटा भोजको आयोजन गरे। सो भोजमा उनले आफ्नी तीन वर्षीया छोरीलाई बिफ खुवाए र बिफ खानु स्वास्थ्यका लागि हानिकारक नरहेको सन्देश दिए ।

नेपालमै पनि एक पटक बर्ड फ्लुको आतंक यति धेरै थियो कि पोल्ट्री व्यवसायी संघले एक विशेष कार्यक्रम आयोजन गरेर मन्त्रीलाई कुखुराको मासु खुवाएर राम्रोसँग पकाइएको मासु स्वास्थ्यका लागि हानिकारक नरहने सन्देश दिएको थियो।

मासुमाथि आइलाग्ने यस्तो नियमित समस्या यतिबेला जापान पुगेको छ। जापानको आणविक भट्टी रहेको फुकुसिमामा सन् २०११ मा सुनामी आएपछि सो भट्टी बन्द थियो। आइतबारदेखि फुकुसिमा आणविक भट्टीमा रहेको १३ लाख टन पानीलाई समुद्रमा फ्याँकिएको छ। केही विज्ञहरू यसरी फ्याँकिएको पानी प्रदूषित भएकाले सामुद्रिक जीवलाई असर गर्ने र पछि त्यसले सर्वसाधारणको स्वास्थ्यमा पनि ठूलो कुप्रभाव पार्ने बताइरहेका छन्।

चीनले त पानी फ्याँकिनुअघि नै जापानी सामुद्रिक खाद्यान्नहरू प्रदूषित हुने बताउँदै प्रतिबन्ध नै लगाइदियो। यसपछि सर्वसाधारणमा ठूलो त्रास फैलिन पुग्यो र सामुद्रिक माछामासु खानै छाडिदिए।

बुधबार भने जापानका प्रधानमन्त्री फुमियो किसिदाले सामुद्रिक खाद्यान्न खतरामुक्त रहेको सन्देश दिन एउटा रेस्टुराँमा छिरेर मजाले माछाको स्वाद लिए।

आणविक प्रदूषणको डर कोरियालीहरूमाझ पनि यति चर्को थियो कि दक्षिण कोयिाली राष्ट्रपति युनले समेत आफ्नो क्यान्टिनमा माछाको स्वाद लिएको सन्देश जारी गरे। जारी नगरुन् पनि किन, जापानले फुकुसिमाको पानी समुद्रमा फ्याँके ६२ प्रतिशत कोरियालीहरूले सामुद्रिक जीवलाई भान्सामा नपकाउने एउटा सर्भेमा देखिएको थियो।

यता वैज्ञानिकहरूले भने सो पानी समुद्रमा फ्याँक्नुअघि विषाक्तता हटाइएको दाबी गरेका छन्। अन्य उद्योगबाट सिधै समुद्रमा फ्याँकिने दूषित पानीको तुलनामा यो पानी निकै हदमा स्वस्थ रहेको दाबी गरिँदै छ। यसका बाबजुद फुकुसिमाका माछा व्यापारीले माछामासु नबेच्न दैनिक एक हजार वटा म्यासेज दबाब दिँदै आउने गरेको बताउँछन्। 

प्रकाशित: १५ भाद्र २०८० ०२:३२ शुक्रबार

माछाको अर्थ-राजनीति यस्तो पनि!