राजनीति

उम्मेदवार टुंगो लगाउन दललाई सकस

काठमाडौं- असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह चुनावका लागि उम्मेदवार टुंगो लगाउन प्रमुख दललाई सकस भएको छ। खासगरी नेपाली कांग्रेस र मधेस केन्द्रित दललाई उम्मेदवार टुंगो लगाउन समस्या परेको छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएका नगरपालिकामा एमाले र माओवादी केन्द्रलाई पनि उम्मेदवारको टुंगो लागाउन सकस परेको छ।

भदौ २१ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ। हालसम्म एउटै दलले पनि उम्मेदवार टुंगो लगाउन सकेको छैन।

खासगरी नेपाली कांग्रेस र मधेस केन्द्रित दललाई उम्मेदवार टुंगो लगाउन समस्या परेको छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएका नगरपालिकामा एमाले र माओवादी केन्द्रलाई पनि उम्मेदवारको टुंगो लागाउन सकस परेको छ।

ग्रेसमा सबैभन्दा भद्रगोल

अघिल्लो महिना बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले साउन मसान्तभित्र उम्मेदवार टुंगो लगाउनेगरी साउन २९ गतेसम्म सबैसूची केन्द्रमा पठाउन सबै जिल्ला समितिलाई निर्देशन दिएको थियो। निर्देशनअनुसार केही जिल्लाले सूची पठाए तर केही जिल्लामा भने भद्रगोल भयो। सप्तरी र महोत्तरीबाट छुट्टाछुट्टै सूची केन्द्रमा आए। एउटा सूची जिल्ला सभापतिले पठाए भने अको सूची क्षेत्रीय सभापतिले पठाए। जनकपुर उपमहानगरपालिकामा मेयर पदका लागि ९ र उपमेयरका लागि ३ जनाको नाम सिफारिस भएको छ। यसैगरी राजविराजलगायतका नगरपालिकामा आकांक्षी बढी भएपछि केन्द्रलाई मिलाउन सकस परेको हो।

२ नम्बर प्रदेशमा उम्मेदवारको टुंगो लगाउन सभापति शेरबहादुर देउवाले महामन्त्री शशांक कोइराला, नेता विमलेन्द्र निधि र २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, रामकृष्ण यादव, रमेश रिजाल, उमाकान्त चौधरी, महेन्द्र यादव, आनन्द ढुंगाना, प्रदीप गिरी, चित्रलेखा यादव, अजय चौरसिया र किरण गिरीलाई जिम्मेवारी दिएका छन्। ती नेताको बैठक पार्टी कार्यालय सानेपामा दिनहँु बस्ने गरेको छ। बुधबार पनि बैठक बसको थियो। बुधबारको बैठकमा महोत्तरी र सप्तरीबारे छलफल भएको नेताहरूले बताए।  केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले बिहीबारबाट प्रत्येक जिल्लाको हकमा छुट्टाछुट्टै बैठक गरी उम्मेदवार टुंगो लगाउने बताए। पाँच दिनभित्रै सबै जिल्लामा टुंगो लागिसक्ने उनको दाबी छ।

धनुषाका सभापति रामसरोज यादवले आकांक्षीको सूची केन्द्रमा पठाइएको र अब केन्द्रले नै टुंगो लगाउने बताए।

कांग्रेस जनकपुर नगर सभापति मनोज साहले उम्मेदवारको टुंगो जतिसक्दो चाँडो केन्द्रले लगाउनुपर्ने बताए।

एमाले र माओवादीलाई पनि अप्ठेरो

विजयको सम्भावना भएका ठाउँमा एमालेलाई पनि उम्मेदवार टुंगो लगाउन गाह्रो परेको छ। एमालेले केही ठाउँमा टुंगो लगाएको छ भने केहीमा बाँकी छ। धनुषा, रौतहट र सप्तरीका नगरपालिकामा एमालेलाई उम्मेदवार टुंगो लगाउन सकस परेको हो। 

एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जनकपुरलगायत केही ठाउँमा विपक्षी दलका नेताले आफ्नो पार्टीभित्र खेलेका कारण आकांक्षीलाई मिलाउन कठिन परेको बताए। 'केही नगरपालिकामा जित्न नसक्ने उम्मेदवारले पनि आकांक्षा राखेपछि मिलाउन गाह्रो भएको हो,' उनले भने। एक साताभित्र सबै ठाउँमा उम्मेदवार टुंगो लगाइसक्ने उनले बताए।

२ नम्बर प्रदेशका रार्जमागवरिपरिका  नगरपालिका तथा गाउँपालिकामा आफ्नो प्रभाव भएको एमालेको दाबी छ। भारतीय सीमासँग जोडिएका गाउँपालिका तथा नगरपालिकामा मधेस केन्द्रित दलको प्रभाव  छ।

माओवादी केन्द्रलाई पनि आफ्नो प्रभाव भएको क्षेत्रमा उम्मेदवार चयन गर्न गाह्रो परेको छ। माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिएको छ। तर  प्रदेश समितिले टुंगो लगाउन नसकेपछि केन्द्रले टुंगो लगाउने तयारी भएको माओवादी केन्द्रका सचिवालय सदस्य प्रह्लाद बुढाथोकीले बताए। पार्टीको प्रभाव भएको राजमार्गवरिपरिका गाउँपालिका  तथा नगरपालिकामा आकांक्षीलाई मिलाउन  प्रयास भइरहेको पनि बुढाथोकीले बताए। 'एक साताभित्रै सबै आकांक्षीलाई मिलाउछौं,' बुढाथोकीले भने।

मधेस केन्द्रित दल प्रतिष्ठा जोगाउन चुनौती

मधेस केन्द्रित दललाई २ नम्बर प्रदेशका प्रतिष्ठा जोगाउनुपर्ने चुनौती छ। मधेस केन्द्रित दलहरू फोरम लोकतान्त्रिक, फोरम नेपाल र राजपाले दुई नम्बर प्रदेशलाई आआफ्नो आधार भूमि भएको दाबी गर्दै आएका छन्। २ नम्बर प्रदेशमा अन्य प्रदेशको तुलनामा आफ्नो स्थिति बलियो भएको दाबी मधेस केन्द्रित दलले गर्दै आएका छन् तर पनि २ नम्बर प्रदेशमै मधेस केन्द्रित दल कमजोर हुने डर पनि उनीहरूलाई छ। त्यसैले मधेस केन्द्रित दलहरूले मधेसको चुनावलाई पहिलो प्राथमिकतामा राखेका छन्।

फोरम लोकतान्त्रिक र फोरम नेेपालका अधिकांश केन्द्रीय नेता अहिले २ नम्बर प्रदेशका केन्द्रित भएका छन्। फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले २ नम्बर प्रदेशमा चुनाव जिताउने पार्टीका संासद तथा केन्द्रीय नेतालाई पुरस्कार दिनेसमेत घोषणा गरेका छन्। फोरम लोकतान्त्रिककी उपाध्यक्ष आशा चतुर्वेदीले २ नम्बर प्रदेशको चुनावमा फोरम लोकतान्त्रिकले प्रतिष्ठा उँचो बनाउने दाबी गरिन्। 'हामीले अरू प्रदेशमा भन्दा २ नम्बर प्रदेशमा बढी स्थान जित्छौं। २ नम्बर प्रदेश हाम्रो बलियो क्षेत्र हो,' उनले भनिन्।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशको चुनावलाई निकै महŒव दिएका छन्। नयाँ शक्तिसँग कार्यगत एकता भंग भएपछि पार्टीको प्रतिष्ठा जोगाउन अहिले उनी २ नम्बरमै केन्द्रित भएका छन्। फोरम नेपालका नेता शिवजी यादवले २ नम्बर प्रदेशको उम्मेदवारको टुंगो लगाउन पार्टीले मापदण्ड बनाएको बताए। 'महागनरपालिकामा उम्मेदवारको टुंगो केन्द्रले लगाउँछ। नगरपालिकामा जिल्लाले लगाउँछ र गाउँ पालिकामा क्षेत्रीय समितिले लगाउने निर्णय गरका छौं,' यादवले भने, '२ नम्बर प्रदेशमा उम्मेदवारको टुंगो आगामी एक साताभित्रै लगाउँछौं।' ६ पार्टी मिलेर बनेको राजपालाई पनि उम्मेदवार टुंगो लगाउने गाह्रो पर्ने अवस्था छ।

प्रकाशित: ८ भाद्र २०७४ ०२:५३ बिहीबार

उम्मेदवार टुंगो लगाउन दललाई सकस