राजनीति

सिआइबीलाई प्रधानमन्त्रीको निर्देशन: भ्रष्टाचारको फाइलमा प्रचण्ड देखिए पनि नछोड्नु

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारकाविरूद्व अभियानमा सरकारले कसैलाई उन्मुक्ति नदिने बताएका छन्।

बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले भ्रष्टाचारमा संलग्न कसैलाई पनि सरकारले उन्मुक्ति नदिने बताएका हुन्।

‘मैले सिआइवीलाई बोलाएरै भनेको छु, भ्रष्टाचारका फाइल खोल्दै जाँदा प्रचण्ड देखियो भने पनि नछोड्नु भनेको छु,’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारकाविरूद्व सरकारले ठुलो अभियान चलाइरहेको बताउँदै यति बेला सरकारलाई जनताको साथ र समर्थनको खाँचो रहेको बताए।

दाहालले नेपाल राष्ट र नेपाली जनताको सर्वोत्तम हितका लागि सरकार, गठबन्धन र मोर्चा एक ढिक्का रहेको बताए।

‘सरकारले अहिले चलाइ रहेको भ्रष्टाचारविरूद्वको अभियान र सुशासनको पक्षमा गरिरहेको कामका विरुद्ध षड्यन्त्र भइरहेको छ। सरकारलाई अझ भ्रष्टाचारकाविरूद्व लाग्न र सुशासनका पक्षमा काम गर्न तपाईँहरूको साथ र सहयोगको खाँचो छ।’

उनले अहिलेका उपलब्धिको रक्षा गर्दै सरकारले अगाडि बढाएका जनता केन्द्रित कामहरूलाई दृढतापूर्वक कार्यान्वयन गर्न मोर्चा आवश्यक रहेको बताए।

उनले समाजवादी मोर्चा प्रारम्भ मात्रै भएको बताउँदै देशका सम्पूर्ण कम्युनिस्टलाई एक ठाउँमा ल्याउने यसको लक्ष्य र उद्देश्य रहेको सुनाए। उनले विभिन्न कालखण्डमा छुट्टिएका शक्तिहरू फेरि एक ठाउँमा आएको जिकिर गरे।

‘जनयुद्धकै बेला उपेन्द्र यादवसँग छुट्टिनुपर्‍यो, शान्ति प्रक्रियापछि विप्लवसँग छुट्टिनु पर्‍यो, दुई पार्टी एक हुँदासँगै रहेका माधवकुमार नेपालसँग पनि छुट्टिनु पर्‍यो’ उनले भने, ‘पहिले छुट्टिएका सबै हामी एकै मोर्चामा आएका छौं, त्यसैले यो मोर्चाको महत्त्व धेरै आवश्यक छ।’

दाहालले सरकार कति समय चल्छ त्यसमा आफूले चिन्ता नलिएको बताए। ‘सरकार कति दिन चल्छ त्यो मलाई मतलबको कुरा होइन,’ उनले भने, ‘राम्रो काम गर्छु, राम्रो गर्दागर्दै कसले हटाउँदो रहेछ म पनि हेर्छु।’

प्रकाशित: १४ भाद्र २०८० १०:३६ बिहीबार

पुष्पकमल दाहाल