राजनीति

संसदमा मतदान सुरु हुनुअघि सीपी मैनाली किन जुरुक्क उठे?

काठमाडौं—संसदमा संविधान संशोधन मतदान प्रक्रिया चलिरहँदा संसदमा एउटा फरक दृश्य देखियो। नेकपा मालेका महासचिव सीपी मैनालीसहितका केही सांसद जुरुक्क उठे। सभामुख ओनसारी घर्तीले नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७३ माथि मतदान सुरु गर्न गइरहेका बेला मैनाली उठेका थिए।

मतदान प्रक्रिया चलिरहेका बेला मैनालीसहितका सांसद किन उठे कसैलाई पत्तो भएन। उनले केही भन्न खोजे तर माइकमा लाइन थिएन।

'माननीय सांसदहरु बसौं। निर्वाचन प्रक्रिया चलिरहेको छ। बसौं', सभामुख घर्तीले भनिन्।

मैनाली बसेनन्। उनले केही भन्न खोजिरहेको जस्तै देखियो।

'तपाइँको नियम आपत्ति हो? निर्वाचन प्रक्रिया चलिरहेको छ। कृपया बसौं', सभामुखले फेरि अनुरोध गरिन्। तैपनि मैनाली बसेनन्। यतिकैमा माइकमा लाइन दिइयो।

'हामी यो संविधान दोस्रो संशोधन विधेयकमाथिको निर्वाचन प्रक्रिया बहिष्कार गर्छौं', माले महासचिव मैनालीले भने।

मालेको यो निर्णयसँगै उ चुनाबी प्रक्रियामा सहभागी हुने छैन। यसअघि माले एमालेसँगै संविधान संशोधनको विपक्षमा थियो। तराईका जनता नभइ शक्ति केन्द्र रिझाउने गरी ल्याइएको संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने एमाले निर्णय छ। मतदान प्रक्रिया चलिरहँदा माले निर्वाचन बहिष्कारको निर्णयमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित: ५ भाद्र २०७४ १३:४९ सोमबार

संसदमा मतदान सुरु हुनुअघि सीपी मैनाली किन जुरुक्क उठे