राजनीति

मंसिर तेस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय

नेकपा एमालेले मङ्सिर तेस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।

सिरहाको सर्रे अम्बासमा बुधवार बसेको एमालेको २५ औं सचिवालय बैठकले मङ्सिरको तेस्रो साता केन्द्रीय कमिटी बैठक आयोजना गर्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म युवा केन्द्रीत अभियानको खाका बनाउने निर्णय गरेको छ।

‘अहिले हामीले मंसिरको तेस्रो साता धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाउने, मङ्सिरमै पोलिटब्युरोको बैठक डाक्ने निर्णय गरेका छौं,’ एमाले सचीव योगेश भट्टराईले भने।

बुधवारको बैठकले थपिएका दुई केन्द्रीय सदस्य केदार न्यौपाने र छक्कबहादुर लामाको कार्यविभाजन पनि गरेको छ।

यस्तै चौथो महाधिवेशन आयोजना गरिएको स्थलमा बैठक बसेकाले त्यतिबेला तय भएको राजनीतिक, वैचारिक कार्यदिशा पनि उत्तिकै सान्दर्भिक रहेकाले त्यसलाई थप विकास गर्ने प्रस्ताव पारित गरिएको छ।

२०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म त्यसबेलाको नेकपा मालेले सर्रे अम्बासको काठेघरमा चौथो महाधिवेशन आयोजना गरेको थियो। त्यो महाधिवेशनले माओत्सेतुङ विचारधारा त्याग्दै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवादी, लेनिनवादी तय गरेको थियो। शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशा पनि तय गरेको थियो। नेपाली कांग्रेससँग सहकार्य गर्दै पञ्चायतविरूद्ध संघर्ष गर्ने कार्यनीति पास गर्दै ४ वैकिल्पकसहित २० जनाको केन्द्रीय कमिटी चुनेको थियो।

२०४६ साल भदौ १४ गते नै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले महासचिवमा मदन भण्डारी निर्वाचित गरेको थिए। ५ सदस्यीय पोलिटब्युरो पनि गठन गरेको थियो।

पोलिटब्युरोमा माधवकुमार नेपाल, जीवराज आश्रित, झलनाथ  खनाल, अमृत बोहरा र चन्द्रप्रकाश मैनाली (सिपी) चुनिएका थिए।

बैठकपछि एमालेले हिरक स्तम्भको शिलान्यास गर्ने कार्यक्रम राखेको छ। स्तम्भमा सुखानी, छिन्ताङका सहिदहरूको नाम लेख्ने एमालेले जानकारी दिएको छ। एमालेले तत्कालीन मालेको चौथो महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने त्यहाँका स्थानीयहरूलाई सम्मान गर्ने तयारी गरेको छ। बैठकले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: १३ भाद्र २०८० ११:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App