राजनीति

सरकारमा थपिए माओवादीका आठ नेता

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका आठजनालाई प्रधानमन्त्री देउवाले आइतबार राज्यमन्त्री नियुक्त गरेका हुन। प्रधानमन्त्रीले बुधबारभित्रै आफ्नै दल नेपाली कांग्रेस र अर्को सत्ता साझेदार फोरम लोकतान्त्रिकका केही नेतालाई राज्यमन्त्री बनाउने छन्। बुधबार भारत भ्रमणमा निस्कनुअघि कांग्रेस र फोरम लोकतान्त्रिकका गरी कम्तीमा एक दर्जन नेतालाई सरकारमा राज्यमन्त्री बनाउने उनको तयारी छ।

कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै कांग्रेस र फोरम लोकतान्त्रिकका केही नेतालाई राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराइने बताए। 'माओवादी नेतृत्वले आजै (आइतबार) नै राज्यमन्त्रीमा सहभागी गराउन सूची उपलब्ध गराएकाले उहाँहरूको शपथ भयो,' निधिले भने, 'प्रधानमन्त्री भारत जानुअघि नै थप केही राज्यमन्त्री हुनेछन्।'

प्रधानमन्त्रीले आइतबार माओवादीले सम्हालदै आएका महिला, बालबालिका तथा समाजकल्याण, स्वास्थ्य, ऊर्जा, आपूर्ति, सहरी विकास, पशुपन्छी विकास, सामान्य प्रशासन मन्त्रालयमा राज्यमन्त्री थपेका हुन्।

माओवादी नेता मोहम्मद जाकिर हुसेन (महिला, बालबालिका), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपन्छी विकास) र वाङदी शेर्पा (सामान्य प्रशासन) ले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

सत्तासाझेदार कांग्रेस र माओवादीबीच २१ राज्यमन्त्री बनाउने समझदारी बनेको स्रोतको दाबी छ। त्यसपछि देउवा सरकार ५१ सदस्सीय पुग्नेछ। देउवा जेठ २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।  

राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दललाई सरकारमा सहभागी गराउने भन्दै प्रधानमन्त्रीले अझै चार मन्त्रालय खाली राखेका छन्।

प्रकाशित: ५ भाद्र २०७४ ०२:२५ सोमबार

सरकारमा थपिए माओवादीका नेता