राजनीति

परिवर्तन उल्ट्याउन खोज्नेहरू विरुद्ध समाजवादी मोर्चाको निर्माण: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले  परिवर्तन उल्ट्याउन खोज्नेहरू विरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन्।

समाजवादी मोर्चा नेपाल लुम्बिनीले मङ्गलवार बुटवलमा गरेको सन्देश सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले प्रतिक्रियावादी शक्तिहरूले जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले मोर्चाभन्दा बाहिरका शक्तिहरू नक्कली भएको भन्दै उनले भने, ‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरू नक्कली हुन्। पटक पटक संविधान मिच्ने र संसद् विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन।’

नेपालमा गणतन्त्र स्थापना र संविधान सभाको निष्कर्ष चुनवाङ बैठकले गरेको स्मरण गर्दै उनले कम्युनिष्ट आन्दोलनका वादहरू विवादमा पुगेकै कारण समाजवादी मोर्चाको आवश्यकता भएको बताए। ‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरूको, श्रमिक वा पूजीपतीहरूको हुने हो, त्यसैको लागि यो मोर्चा बनेको छ’  दाहालले भने।

मुलुकमा अहिले परिवर्तन उल्ट्याउन जातीय द्वन्द्व निम्त्याउन खोजिएको भन्दै उनले समाजवादी गणतन्त्रमा रूपान्तरण गर्नका लागि मोर्चाबन्दी गरिएपछिचौतर्फी घेराबन्दी सुरु भएको दाबी पनि गरे। मोर्चाले लाखौं जनता सडकमा उतारेर समाजवादको मोडल प्रस्तुत गर्ने पनि बताए।

प्रधानमन्त्री दाहालले सरकारमा बस्नका लागि अनुचित काम नगर्ने पनि बताए। आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न की भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताए। ‘प्रतिपक्षी साथीले संसद्मा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’ उनले भने । सरकारमा बस्न कै लागि जे पनि गर्छ की भन्ने भ्रममा नपर्न आग्रह गर्दै भने ‘सुशासनका लागि एक पछि अर्को कदम चालिरहेकै छौं र अझैपनि हेर्दै जानु होला के के हुन्छ’।

एमसिसिका विषयमा आफू प्रधानमन्त्रीको रुपमा धेरै बोल्न नमिल्ने बताउँदै राष्ट्रियता र स्वाधीनताको रक्षाकालागि आफ्नो लडाइ जारी रहेको बताए। अनुदान लिएर देशको हितमा विकास गर्ने गरी योजनालाई अगाडि बढाउने भन्दै उनले एमसिसिकालागि आफूलाई विश्वास गर्न आग्रह पनि गरे। 

सुशासनको पक्षमा सरकारले चालेका कदमबाट जनतामा आशा र भरोसा जागेको बताए। भ्रष्टाचार नियन्त्रण, सुशासनका पक्षमा सरकार लागि परेको बताउँदै अर्थतन्त्र सुधारका लागिराष्ट्र बैँकसँग निरन्तर छलफल गरिरहेको बताए। 

प्रकाशित: १२ भाद्र २०८० १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App