राजनीति

चुनावको लागि वातावरण बन्दैछ: महतो

जनकपुर- स्थानीय तह निर्वाचनको विरोधमा रहेका राजपा नेपालका नेता राजेन्द्र महतोले संविधान संशोधनको प्रक्रिया अगाडि बढेसँगै चुनावको लागि वातावरण सकारात्मक बन्न थालेको बताएका छन्।

बिहीबार टेबुल भएको परिमार्जन सहितको संशोधन विधेयक पारित गराउन अगामी सोमबार प्रक्रियामा लगिने तयारी भएको उनले बताए।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले राजपा चुनावमा भाग लिने विषयमा भने औपचारिक निर्णय भइनसकेको बताए। ‘हिजो (बिहीबार) संशोधन विधेयक टेबुल भएसँगै सकारात्मक वातावरण बन्न थालेको छ’ उनले भने, ‘सोमबार मतदानपछि आउने परिणामको आधारमा भदौ ६ र ७ गते बस्ने पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार निर्वाचनमा भाग लिने विषयमा औपचारिक निर्णय लिन्छौं।’

संशोधन विधेयक पास गराउन संसदमा रहेका सबै दललाई पक्षमै मतदान गर्न आग्रह गर्दै महतोले संसदमा देखिने व्यवहार अनुसार कुन पार्टीसँग कस्तो व्यवहार गर्ने नीति बनाएरै जनताको बीचमा आउने बताए । ‘मधेशको मुद्दासँग सिंगो मुलुकको राजनीति उल्झिएको छ । यसको निकासको लागि न्युन्तम आधार संशोधन विधेयक हो । यो पास हुने बित्तिकै राजनीतिक निकास तत्काल निस्किन्छ’ उनले भने।

प्रकाशित: २ भाद्र २०७४ ०९:०८ शुक्रबार

चुनावको लागि वातावरण बन्दैछ महतो