राजनीति

बाढीपीडितलाई मलहम लगाउने ‘डाक्टर’

डुवान बस्तीको क्षति हेर्दै नेता कोइराला। तस्बिर : अजित तिवारी

विराटनगर- भारी वर्षाले पूर्वी नेपालमा ‘तवाही’ निम्त्याएको खबरले नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालालाई काठमाडौंस्थित निवासमा छटपटाइरहे। उनी जसरी पनि विराटनगर आउन चाहन्थे। तर, बाढीको भेल पस्दा विमानस्थल डुबानमा थियो। जताततै क्षति पुर्‍याउँदा सडक मार्ग अवरुद्ध थियो।

काठमाडौंको राजनीति ‘भागदौड’मा पनि उनी मन बहल्याउन सकेनन्। विराटनगर आउने अनेक उपाय खोजे। उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर इटहरी जान लागेको थाहा पाएपछि नेता कोइराला त्यसमै आउने निधो गरे। र, शनिबार अपरान्ह झमझम पानी परिहेकै मौसममा इटहरी अवतरण गरे। त्यहाँ नेपाली सेनाको इटहरीस्थित पृतनापति गौरव टन्डुल र पूर्व क्षेत्र प्रहरी कार्यालयका डिआइजी रमेशकुमार भट्टराईले बाढीले निम्त्याएको बिनाशबारे ‘बिफ्रिङ’ गर्दा नेता कोइराला उदास भए।

केसलिया खोलाको पूर्वी बाँध फुटेर विराटनगरमा बाढीको भेल पसिरहेको दृश्य उनले हेलिकोप्टरबाटै हेरे। विराटनगर डुब्नुको कारण यही फुटेको बाँध रहेछ भने उनले पत्ता लगाइहाले। बाँध फुटेको त्यही भेलले सुरुवाती धक्का दिइरहेको मोरङको बुढीगंगा गाउँपालिकाको डुबान क्षेत्रमा डाक्टर कोइराला आफैँ पुगे। बाढीले पुर्‍याएको क्षतिको सबै जानकारी लिए। बाढीले पुर्‍याएको क्षति र प्रभावित मानिसहरुको ‘सेवा’मा नेता कोइराला शनिबारदेखि निरन्तर खटिरहेका छन्।

‘आज नो रेष्ट, खाना खाएर फेरि मुभ हुनुपर्छ’ बुधबार इक्रराहीमा राहत र डाक्टर लिएर पुगेका नेता कोइरालाले कांग्रेसका जिल्ला नेता केदार कार्कीलाई भनिरहेका थिए, ‘तिमी ५०-६० वटा त्रिपाल लिएर तयारी अवस्थामा बस।’ बाढीले घरबार र परिवारकै उठिबास लागेको बेला सरकारी निकायले क्षति र पीडितको तथ्यांक संकलनमै ब्यस्त रहेका बेला नेता कोइरालाले भने दिनहुँ बाढी प्रभावितको आँगनमै पुगेर ढाडस दिइरहेका छन्। बाढीले उठिवास नै भएको परिवारलाई ओतका लागि नेता कोइरालाले काठमाडौंबाट तीनसय थान त्रिपाल झिकाए।

केशलिया नदीको फुटेको बाँध निर्माण नहुँदा विराटनगरको डुबान समस्या समाधान हुँदैन। त्यही बुझेर नेता कोइरालाले मंगलबार जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका डिइ देवनारायण साहलाई लिएर भत्केकै बाँधमा पुगे। बाँसको व्यवस्था गरेर उनले तत्कालै त्यहाँ घेराबेरा लगाउन र बाँध निर्माणको स्टिमेट आफूलाई पनि दिन डिइलाई आग्रह गरे। ‘विराटनगर डुब्नुको मुख्य कारण केसलियाले भत्काएको यही बाँध नै हो,’ नेता कोइरालाले भने, ‘बाँध निर्माणका लागि म पहल गर्छु।’ नेता कोइराला बाँधमा पुगेको थाहा पाएर त्यहाँ सयौंको संख्यामा स्थानीय आइपुगे।

उनले आफू चढेको गाडीमा रहेको चाउचाउ, भुजा र पानी ‘नास्ता’ भन्दै सबैलाई खुवाए। र, त्यहाँबाट डिइलाई सँगै लिएर सिंघिया खोलाको बाढीले पुर्‍याएको क्षति हेर्न पुष्पलाल चोक पुगे। पुष्पलाल चोकको पूर्वीउत्तरी बस्तीको चार-पाँचवटा घर सिंघियाको बाढीले भत्काइदिएको छ।

विराटनगर-१७ को खाप टोल र विराटनगर–४ को इक्रराहीमा डुवान पीडितको स्वास्थ्य जाँच्न डाक्टर कोइराला आफैँ तम्से। कानमा आला लगाएर उनले बिरामी जाँच्न थाले। नेता कोइराला २० वर्ष चिकित्सा क्षेत्रमा कार्यरत्त थिए। ‘बाढीपछिको मौसमले डुबानपीडितमा रोगको संक्रमण हुने खतरा हुन्छ,’ उनले भने, ‘त्यसैले समान्य ज्वरो आएकालाई पनि एन्टीब्योटिक दिएको छु।’

बाढी प्रभावित क्षेत्रमा मन्त्रीदेखि नेतासम्म हवाई दौडाहा गरिरहेको बेला कांग्रेस नेता कोइराला भने डुबान भएका घरघरमा पुगेर पीडितलाई मलहम लगाउनमा तल्लीन छन्।

प्रकाशित: १ भाद्र २०७४ ०६:१० बिहीबार

बाढीपीडितलाई मलहम लगाउने डाक्टर