राजनीति

दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गर्न निर्देशन

काठमाडौं- व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समिति बैठकले दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गरेर बाढीपहिरो समस्या समाधानको उपाय खोज्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बिहान बसेको बैठकले ऊर्जा र सिँचाइमन्त्रीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो।

बर्सेनि बाढीबाट विशेषगरी तराईका क्षेत्रमा जनधनको क्षति हुने र कृषियोग्य जमिन बगरमा परिणत हुने अवस्थाले मुलुकलाई ठूलो क्षति पुग्दै आएका निष्कर्षसहित समितिले प्राधिकरण गठन गरेर निकास खोज्न निर्देशन दिएको हो।  दैवीप्रकोपबाट हुने क्षतिको दीर्घकालीन, मध्यकालीन र अल्पकालीन समाधान खोज्न प्राधिकरण नै गठन गर्नुपर्ने समितिको ठहर छ। बैठकमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र सिँचाइमन्त्री सञ्जयकुमार गौतम उपस्थित थिए।

सीमावर्ती नदीमा बाँधिएका बाँधका कारण डुबान भएको भन्ने विषय बाहिर आएकाले यसबारे छिमेकी राष्ट्रसँग कूटनीतिक पहल गरी समाधान खोज्न बैठकले सरकारलाई निर्देशन दिएको छ।

बाढीपहिरो आउँदा समयमा राहत पुग्न नसकेर सर्वसाधारण भोकभोकै भइरहने अवस्था भएकाले उद्धार र राहत प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ। समितिले बाढीबाट भएको क्षतिको अनुगमन गर्न संसदीय टोली पठाउने निर्णय पनि गरेको छ।

हालैको बाढीबाट पूर्वी र मध्य तराईमा भएको डेढ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौ विस्थापित भएका छन्।

प्रकाशित: १ भाद्र २०७४ ०२:२९ बिहीबार

दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गर्न निर्देशन