राजनीति

ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरेः माधवकुमार नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन्।। संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भएपनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो।  

उनले भने, ‘ओलीले यो पार्टीको मतलव नै नराख्ने । हुँदाहुँदा हिजोअस्ती त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानविन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् ।'

अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि नगरेको बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गर्दैै उनले पार्टीलाई बिजोग बनाएर आफूले भने राष्ट्रपति बन्न त्यतिखेर नचाहेको समेत बताए। अध्यक्ष नेपालले नेकपा ब्युँताऊ भनेर आफूले पठाएको प्रस्तावलाई पनि ओलीले लत्याएको दोहोर्याए।

प्रकाशित: ९ भाद्र २०८० ०८:२१ शनिबार

माधवकुमार नेपाल