राजनीति

भेरी अस्पताल सञ्चालक समितिमा नेताले श्रीमतीको नाम सिफारिस गरेपछि...

अवसरका लागि आफ्नै श्रीमतीको नाम सिफारिस गर्ने जनतम पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजनारायणविरुद्ध शुक्रबार गरिएको विरोधसभा । तस्विरः गणेश÷नागरिक

जनमत पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य तेजनारायण कँडेलले भेरी अस्पताल सञ्चालक समितिको सदस्य नियुक्तिमा झुक्याएर आफ्नै श्रीमतीको नाम सिफारिस गरेको भन्दै विरोध भएको छ। पार्टीभित्र छलफल नगरि जिल्ला इन्चार्ज कँडेलले मनोमानी ढंगबाट आफ्नै श्रीमतीको नाम सिफारिस गरेको भन्दै विरोध भएको हो ।

जिल्ला इन्चार्ज कँडेलले साउन १५ गते आफ्नी श्रीमती पवित्रा लामिछानेलाई भेरी अस्पताल सञ्चालक समितिको सदस्यमा नियुक्त गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरी पठाएका थिए। जसको विरोधस्वरुप बाँकेमा शुक्रबार जनमत पार्टी कार्यालय अगाडि नाराबाजीसमेत भएको छ। पार्टीभित्र छलफल नगरि आएको अवसर कार्यकर्तामुखी हुनुपर्नेमा परिवारमुखी भएको नेपालगन्ज नगर कमिटीका नगर प्रमुख शुभम गुप्ताले जनाए। ‘पार्टीभित्र छलफल नगरि झुक्याएर आफ्नै श्रीमतीलाई अवसर दिने काम सह्य हुँदैन,’ उनले भने, ‘उहाँ (तेजनारायण) ले आफ्नै श्रीमती पवित्राको नाममा गरेको सिफारिस फिर्ता ल्याएर पार्टीभित्रको योग्य र सक्षम व्यक्तिलाई सिफारिस गरेर पठाउनु पर्छ।’

यता पार्टीको विधि, विधान र पद्दतिअनुसार नै नाम सिफारिस गरिएको जिल्ला इन्चार्ज कँडेलले दाबी गरे । ‘जनमत पार्टीको जिल्ला कार्य समिति नै बनेको छैन । समिति नभएको खण्डमा जति जना संगठित हामी थियौं त्यतिजना बैठक बसेर सर्वसम्वत नाम सिफारिसका लागि छनोट गरिएको थियो,’ उनले भने, ‘सोहीअनुसार मैले नाम सिफारिस गरेर पठाएँ ।’ पार्टी र नेतृत्वप्रति अविश्वास गर्ने कुनै ठाउँ नभएको भन्दै कसैको चरित्र हत्या हुनेखालका गतिविधि बन्द गर्नुपर्ने बताए ।

प्रकाशित: ९ भाद्र २०८० ०३:२५ शनिबार

भेरी अस्पताल सञ्चालक समिति नेताले श्रीमतीको नाम सिफारिस गरेपछि... तेजनारायण कँडेल