राजनीति

‘मलाई फसाउन नसोचे हुन्छ, माकुराको जालोमा भैँसी पर्दैन’

फाइल।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानुनभन्दा बाहिर गएर कुनै निर्णय नगरेको बताएका छन्।

आज नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी सङ्गठनले भक्तपुरमा आयोजना गरेको बृहत् जिल्ला भेलामा बोल्दै उनले विगतमा आफूले नेतृत्व गरेको सरकारको पालामा कानुन पल्टाएर मात्रै निर्णय गरेको जिकिर गरे।

उनले भने, “सुन तस्करीलगायतका अनगिन्ती भ्रष्टाचारका काण्ड छोप्न एमालेले भ्रष्टाचार गर्‍यो भनेर विषयवस्तुलाई अन्तै मोड्न खोजिँदैछ, मलाई कानुनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन। म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदा मेरा काम कारबाही एक शब्द नचिप्लियोस् भनेर मैले कानूनका पाना पल्टाइपल्टाइ निर्णय गरेको छु त्यसैले कसैको इच्छाले केपी ओलीलाई फसाउन सकिन्छ, हतकडी लगाउन सकिन्छ भनेर नसोचे हुन्छ।”

आफू देश बनाउने अभियानमा अगाडि बढिरहेको भन्दै उनले विरोधीले आफूलाई माकुराको जालो बुनिरहेको टिप्पणी गरे।

“अहिलेको भ्रष्टाचार ढाकछोप गर्न झापाको टि स्टेटको कुरा निकाल्दै छन्, हेरे हुन्छ, त्यति खेर ७० बिघा जग्गा कसको पालामा बिक्री भएको हो, जथाभावी गर्नुहुन्न भनेर त्यसपछि मैले नियम बनाइदिएको छु, त्यसैले रोकिएको छ”, उनले भने, “त्यसैले मलाई फसाउन नसोचे हुन्छ, माकुराको जालोमा कहिल्यै भैँसी पर्दैन, त्यस्ता जालो न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ।”

झुटो आरोपमा आफूलाई कसैले गोली हान्न सक्छ तर त्यसमा मलाई कुनै आपत्ति छैन भन्दै उनले पञ्चायकालमा हुँदै नभएको दोष लगाएर जेलमा १० वर्ष भुक्तान भइसके पनि विभिन्न बहाना बनाएर थप चार वर्ष राखे जस्तैको समय र बेला अहिले नभएको बताए।

प्रकाशित: ७ भाद्र २०८० १५:०८ बिहीबार

केपी शर्मा ओली