राजनीति

दोक्लम तनावबारे भारत-भुटानबीच काठमाडौंमा वार्ता

काठमाडौं- 'दोक्लम क्षेत्र मा चीन र भारतबीच तनाव बढिरहेका बेला भारतीय विदेश मन्त्री सुष्मा स्वराजले काठमाडौंमा भुटानका विदेशी मन्त्री दाम्चो दोर्जीसँग भेटवार्ता गरेकी छन्।

'हामीले भुटानी विदेश मन्त्रीसँग बिमस्टेकको साइड लाइनमा भेटवार्ता गर्नका लागि समय मिलाइदिन आग्रह गरेका थियौं। हाम्रो आग्रहअनुसार परराष्ट्र मन्त्रालयले शुक्रबारका लागि समय मिलाइदिएको हो,' भारतीय दूतावास स्रोतले नागरिकन्युजसँग भन्यो।

बिमस्टेक बैठकमा भाग लिन स्वराज बिहीबार दिउँसो काठमाडौं आएलगत्तै काठमाडौंस्थित भारतीय दूतावासका अधिकारी परराष्ट्र मन्त्रालय पुगेर भुटानी विदेश मन्त्रीसँग साइड लाइनमा भेटवार्ता गर्ने समय मिलाइदिन आग्रह गरेका थिए। होटेल सोल्टीमा भएको साइड लाइन वार्तामा दोक्लम तनावलगायत विषयमा कुराकानी भएको थियो। 

बैठकपछि भुटानका विदेशमन्त्री दोर्जीले दोक्लम विवाद शान्तिपूर्ण र दुवैपक्षलाई चित्तबुझ्दो गरी समाधान हुने आशा गरेको बताए। उनी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५औं विदेश मन्त्रीस्तरीय बैठकमा भाग लिन आएका हुन्।

'हामीले भुटानी विदेश मन्त्रीसँग बिमस्टेकको साइड लाइनमा भेटवार्ता गर्नका लागि समय मिलाइदिन आग्रह गरेका थियौं। हाम्रो आग्रहअनुसार परराष्ट्र मन्त्रालयले शुक्रबारका लागि समय मिलाइदिएको हो,' भारतीय दूतावास स्रोतले नागरिकन्युजसँग भन्यो।

दोक्लम क्षेत्रलाई लिएर केही सातायता चीन र भारतबीच तनाव बढेको छ। दोक्लममा भारत र चीनका सेना आमनेसामने भएका छन्। चीन र भुटानको सीमामा पर्ने दोक्लमको केही भाग चीनको नियन्त्रणमा छ भने केही भुटानको। चीन र भुटान दुवैले दोक्लम क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएका छन्।

असार २ गते चीनले आफ्नो नियन्त्रण क्षेत्रमा सडक निर्माण सुरु गरेपछि भुटानले आपत्ति जनाउँदै आफ्ना सेना पठाएको थियो। निर्माण कार्य रोक्न गरेको आग्रहलाई चीनले अस्वीकार गरेपछि भुटानले भारतसँग गुहार मागेको थियो।

भारत र भुटानबीच भएको रक्षा सम्झौता अनुसार भारतले दोक्लममा आफ्ना सेना पठाएको छ। त्यसपछि त्यहाँ चीन र भारतीय सेनाबीच ठेलमठेल भएको थियो।

चीनले दोक्लम पुगेका भारतीय सेनालाई पछि हट्न भने पनि भारतले नहटाउने अडान लिँदै आएको छ, जसका कारण दुई देशबीच तनाव बढ्दै गएको छ। यसै विषयलाई लिएर भारतीय र चिनियाँ मिडियाबीच जुहारी चलिरहेको छ। यसले दुई ठूला र शक्तिशाली राष्ट्रबीच द्वन्द्व निम्त्याउने खतरा बढेको छ।

बिमस्टेक बैठकमा भाग लिन काठमाडौं आएका बेला भारत र भुटानका विदेश मन्त्रीले भेटवार्ता गर्ने तारतम्य मिलाएका हुन्।

प्रकाशित: २७ श्रावण २०७४ ०८:०२ शुक्रबार

दोक्लम तनावबारे भारत-भुटानबीच काठमाडौंमा वार्ता