राजनीति

कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ: पूर्वउपप्रधानमन्त्री सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश ‘क’ले आज यहाँ आयोजना गरेको प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै उनले अब आर्थिक क्रान्ति कांग्रेसको मूल एजेण्डा हुनुपर्ने बताएका हुन्। उनले जनतालाई काम गर्ने र गरिखाने वातावरण निर्माणमा कांग्रेस लाग्नुपर्ने बताए।

पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीभित्र सबैलाई समान अवसर प्रदान गर्न सके मात्र कांग्रेस बलियो हुने उल्लेख गरे। ‘कांग्रेस इतिहासको मात्र कुरा गर्छ भन्ने आरोप लागेको छ, इतिहास भएको पार्टीले नै हो इतिहासको कुरा गर्ने,’उनले भने। कांग्रेसले जनताको चाहनाअनुसार कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका जनप्रतिनिधिको कामका आधारमा पार्टी बलियो हुने भएकाले जनतामाझ राम्रो काम गरेर देखाउन जनप्रतिनिधिलाई आग्रह गरे।

कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीका जिम्मेवार पदमा बसेका व्यक्तिले जिम्मेवारबोधका साथ काम गरे पार्टी बलियो हुने धारणा राखे। उनले पार्टीभित्र देखिएका समस्या पार्टीका नेता बसेर नै समाधान गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा कांग्रेस काठमाडौका सभापति सबुजकृष्ण बानिया, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे लगायतको उपस्थिति  थियो।

प्रकाशित: ७ भाद्र २०८० ११:०७ बिहीबार

कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन्।