राजनीति

कांग्रेस नेता कार्कीको निधन

नेपाली कांग्रेस नेता एवं बागमती प्रदेशसभाका पूर्व सदस्य डा. राजाराम कार्कीको निधन भएको छ। 

लामो समय देखि क्यान्सर रोगबाट पीडित रहेका कार्कीको बुधबार साँझ ५ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

वीर अस्पतालमै लामो समय चिकित्सा पेशामा संलग्न रहेका धादिङका कार्की नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महासचिवको जिम्मेवारी सम्हालेका थिए। पार्टी विभाजित हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य कार्कीको पार्थिव शरीर बिहीबार बिहान ७ देखि ८ः३० बजेसम्म काठमाडौं, स्वयम्भूस्थित निवासमा राखिने भएको छ।

स्वयम्भूमा नै मेडिकल सञ्चालन गरेर जिल्लावासीका साथै अन्यको पनि उपचारमा संलग्न हुँदै आएका कार्कीको पार्थिव शरीरलाई बिहान ९ देखि ११ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पार्टी कार्यालयले जनाएको छ। तत्पश्चात पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।

प्रकाशित: ६ भाद्र २०८० १४:३२ बुधबार

डा. राजाराम कार्की