राजनीति

मूल पार्टीमै फर्कंदै मधेसका नेता

काठमाडौं- असोज २ मा हुने तेेस्रो चरणको निर्वाचनअघि नै २ नम्बर प्रदेशका केही  नेता पार्टी अदलबदल गर्ने गृहकार्यमा जुटेका छन्। नयाँ शक्ति पार्टीका नेता रामचन्द्र झा र फोरम लोकतान्त्रिकका सहअध्यक्ष रामेश्वर राय यादवले अन्य पार्टीमा आबद्ध हुने तयारी गरेका छन् भने राजपा उपाध्यक्ष अनिता यादव, सहमहामन्त्री समिम अन्सारी एमालेमा प्रवेश गरिसकेका छन्।

नयाँ शक्ति पार्टीका नेता झाले नयाँ शक्ति छाडेका छन्। औपचारिक घोषणा नगरे पनि 'पार्टी छाडेको जस्तो स्थिति रहेको' उनले बताए।  'पार्टी छाडेको जस्तो भयो। मैले पार्टीका संयोजक बाबुराम भट्टराईलाई टेलिफोन गरी तपाईंले जसरी पार्टी चलाउनुभएको छ। यसमा म जिम्मेवार छैन भनिसकेको छु', उनले भने। एमालेका दोस्रो तहका केही नेताहरूसँग अनौपचारिक कुराकानी भइरहेको पनि उनले बताए। 'यही साउन मसान्तभित्रै म कुनै राजनीतिक निर्णय लिन्छु', झाले भने।

पार्टी संयोजक भट्टराईको कार्यशैलीको पनि उनले आलोचना गरे। 'उहाँले न पार्टी एकता गर्नुभयो, पार्टीले न चुनाव चिह्न पायो। अब दुई नम्बर प्रदेशमा चुनाव आउँदैछ। त्यसबारे पनि उहाँले केही निर्णय गर्नुभएको छैन,' उनले भने। स्रोतका अनुसार झा एमालेमा जाने तयारीमा छन्। धनुषाका झा एमालेबाट, माओवादी र माओवादीबाट नयाँ शक्तिमा प्रवेश गरेका हुन्।

फोरम लोकतान्त्रिकका सहअध्यक्ष रामेश्वर राय यादवले मंगलबार सहअध्यक्ष पदबाट राजीनामा दिएका छन्। 'अब केही दिनभित्रै एउटा निर्णय गर्छु,' यादवले भने, 'जतिसक्दो चाँडो निर्णय गर्ने प्रयास हुन्छ।' पार्टी अध्यक्ष विजय गच्छदारसँग असन्तुष्ट भई उनले राजीनामा दिएका थिए।

यादव निकट स्रोतका अनुसार यादवलाई आफ्नो पार्टीमा आउन केही ठूला पार्टीका दोस्रो तहका नेताहरूले प्रस्ताव गरेका छन्। पार्टी अध्यक्ष गच्छदार र यादवबीचको सम्बन्ध विगत केही समयदेखि बिग्रेको छ। करिब एक वर्षसम्म त पार्टीका अध्यक्ष र यादवबीच बोलचाल बन्द भएको थियो।

राजपाका दोस्रो तहका नेता हृदयेश त्रिपाठी, सर्वेेन्द्रनाथ शुक्ल, सांसद कमलेश्वर पुरी गोस्वामी, बृजेशकुमार गुप्तालगायत राजपा अध्यक्ष मण्डलसँग असन्तुष्ट छन्। यीमध्ये शुक्ल, गोस्वामी र गुप्ता सांसद पनि भएकाले तत्काल पार्टी छाडेर अन्य पार्टीमा जान सक्ने स्थितिमा छैनन्। रूपन्देही ७ बाट प्रत्यक्ष निर्वाचन जितेका गोस्वामीले राजपा गठन भएदेखि अहिलेसम्म उनले पार्टीका सबै कार्यक्रम बहिष्कार गरेका छन् भने पार्टी कार्यालयसमेत टेकेका छैनन। पार्टीको निर्णयविपरति उनी स्थानीय निर्वाचनमा प्रत्यक्ष सहभागी भए। चुनावका बेलामा उनले फोरम नेपालको उम्मेदवारका पक्षमा प्रचार गरेका थिए।

त्रिपाठी र शुक्लले पनि राजपाको नयाँ पार्टी कार्यालय बबरमहल टेकेका छैनन्। केन्द्रीय समिति बैठकमा भने त्रिपाठी र शुक्ल सहभागी भएका थिए। बैठकमा त्रिपाठीले पार्टी चुनावमा जानैपर्ने अडानमा थिए।

असन्तुष्ट मानिएका बृज्रेश गुप्ताले भने आफै पार्टीमा सुधारका लागि क्रियाशील हुने बताए।

चुनावमा नगए विद्रोह हुने चेतावनी

राजपाका चुनाव पक्षधर नेताहरूले पार्टी चुनावमा नगए पार्टीमै विद्रोह हुने चेतावनी दिएका छन्। राजपा पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीले पार्टी चुनावमा जानुपर्ने धारणा राखेका थिए। केन्द्रीय समिति बैठकमा केहीले चुनावमा जानुपर्छ भनेका थिए भने केहीले संविधान संशोधन नभई चुनावमा जान नहुने धारणा राखेका थिए। राजपाका महासचिव केशव झाले पार्टी चुनावमा नगए पार्टी गम्भीर दुर्घटनामा पर्ने बताए।

प्रकाशित: २६ श्रावण २०७४ ०२:२६ बिहीबार

मूल पार्टीमै फर्कंदै मधेसका नेता