राजनीति

गोरु काटेको घटनाबारे सांसद भण्डारीद्वारा सरकारसँग जवाफ माग

नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गरेका छन्।

बुधवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसदमा दिन माग गरेका हुन्। उनले सदियौँदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वभाविक र अराजक गतिविधि गरेर दुषित बनाउन खोजिएको बताए। उनले आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौति दिँदै धरानमा भएको घटना निन्दनीय भएको बताए।

उनले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभुत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको जिकिर गरे। नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको स्पष्ट भएको उनकाे तर्क थियाे।

सांसद भण्डारीले पालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खल्बल्याइ द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वहरुको अवाञ्छित क्रियाकलाप बढ्दै गएकोप्रति दुःख व्यत्तः गरेका छन्।

प्रकाशित: ६ भाद्र २०८० ११:३८ बुधबार

सांसद शंकर भण्डारी