राजनीति

न्यायाधीशको संयोजकत्वमा सुनकाण्ड छानबिन गरिने

फाइल तस्बीर।

प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने तयारी हुँदाहुँदै अन्तिममा स्थगित भएको छ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सोमबार राती सर्वदलीय बैठकमा सहमति भए पनि त्यसको मस्यौदा बनिसकेको छैन। मस्यौदालाई अन्तिम रूप दिन शीर्ष नेताको बैठक मंगलबार बोलाइएको थियो। प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजे बोलाइएको थियो भने शीर्ष नेताको बैठक त्यसभन्दा अघि बस्ने सहमति भएको थियो। तर, निर्धारित समयमा संसद बसेको थिएन तर, अपरान्ह ३ बजेर केही समय बितेपछि मात्रै सुचनाबाट बैठक स्थगित भएको थियो।  

सर्वदलीय बैठकमा उच्चस्तरीय समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न एमालेका उपनेता सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे सहितको कार्यदल गठन गरिएको थियो। कार्यदलले मस्यौदा तयार गरेको थियो। कार्यदलले तयार पारेको उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदाका बारेमा शीर्ष नेताहरूको बैठकमा पेस गर्नका लागि शीर्ष नेताको बैठक बोलाइएको थियो। कार्यदलले उच्च स्तरीय छानबिन समितिमा तीनदेखि पाँचजना सदस्य हुने भएका छन्।  

उच्च अदालतका वहालवाल न्यायाधिशको संयोजकत्वमा समिति गठन गर्ने, प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को प्रतिवेदनले नसमेटेका विषयमा अध्ययन गर्ने, (सिआइवी) बाट सरकारी वकिलको कार्यालयमार्फत अभियोजन दर्ता गरेको भोलिपल्ट मन्त्रीपरिषद्बाट उच्चस्तरीय आयोग गठन गर्नेलगायतका विषय मस्यौदामा समेटिएका छन्। एमाले स्रोतका अनुसार कार्यदलको प्रतिवेदनमा एमाले अध्यक्ष केपी ओली असन्तुष्ट देखिएका छन्। केही विषयमा थप छलफल गरी संशोधन गर्नुपर्ने अवस्था आउनसक्ने अवस्था छ। यसमा सहमती भएमा बुधबारको संसद् बैठक सुरु हुने सम्भावना रहेको स्रोतले बतायो।  

शीर्ष नेताको बैठकले अनुमोदन गरेपछि मात्र सदन चल्ने सहमति भएकाले अब शीर्ष नेताको सहमतिको आवश्यकता रहेको छ। मंगलबार बैठकमा एमालेका अध्यक्ष केपी ओली नआएपछि बैठक नै नबसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए। ‘बैठक नै बसेन, ओलीजी आउन सक्नु भएन अस्वस्थताको कारणले र छलफल पनि बाँकी भयो,’ उनले भने। एमाले अध्यक्ष बुधबार पनि उपस्थित भएनन् भने संसद् बैठक बस्ने सम्भावना देखिएको छैन। तर, एमालेका प्रमुख सचेतक पदम गिरीले, अध्यक्षलाई पनि ज्वरो आएको र प्रधानन्यायाधीशको पनि शपथ रहेकोले समय अभावका कारण संसद् बैठक स्थगित भएको बताए। तर उनले बुधबारको संसद् बैठक सञ्चालन हुने आफूलाई विश्वास रहेको बताए। 

प्रकाशित: ६ भाद्र २०८० ०१:३९ बुधबार

न्यायाधीशको संयोजकत्वमा सुनकाण्ड छानबिन गरिने