राजनीति

प्रक्रिया मिचेर ठेक्का स्वीकृत

काठमाडौं – नेपाली सेनाले शान्ति मिसनका लागि जेनेरेटर खरिद गर्दा खरिद प्रक्रियाको स्थापित मापदण्ड उल्लंघन गर्दै योग्यता नपुगेको कम्पनीलाई ठेक्का दिएको पाइएको छ । सेनाले साउन ९ माकरिब दस करोड रुपैयाँ बराबरको जेनेरेटर खरिदका लागि काठमाडौं स्थित मुक्तिनाथ ट्रेड कन्सर्नलाई छनोट गरेको थियो।

सो कम्पनीलाई ठेक्का दिँदा कुनै निश्चित कम्पनीलाई ठेक्कापार्न आशयपत्र नै केरमेट गरेर संशोधन गरेको खुलासा भएको छ । नागरिक दैनिकले सेनाले निश्चित कम्पनीलाई ठेक्का पार्न आशयपत्र नै संशोधन गरेको देखिएको कागजात प्राप्त गरेको छ। 

नेपाली सेनाले शान्ति मिसनका लागि साउन एक गते ९ करोड ७८ लाख रुपैयाँको जनेरेटर खरिदको बोलपत्र आह्वान गरेको थियो । प्रक्रियामा ८ कम्पनी सहभागी थिए । बोलपत्रबाट कुनै पनि सामग्री खरिद गर्दा उच्च गुणस्तर वा न्यून मूल्य मध्ये कुनै एक छनोट गर्नुपर्नेमा सो मान्यता उल्लंघन गरी मुक्तिनाथलाई छनोट गरेको छ। 

बोलपत्र प्रक्रियाका काजगात तथा सो प्रक्रियामा प्रतिस्पर्धी कम्पनीबाट संकलन कागजातमा उक्त सामग्री खरिदका लागि हिमाल रेफ्रिजेरेसन एन्ड इलेक्ट्रोनिक्स प्रालि तथा एलिमेक इन्टरनेसनल प्रालिले न्यून मूल्यको बोलकबोल गरेका थिए । उनीहरूले हिमाल ज्याक्सन जेनेरेटरका लागि क्रमशः ९ करोड ४६ लाख ९८ हजार र एलिमेकले किलोस्कर जेनेरेटरका लागि ८ प्रतिशत छुटसहित ९ करोड ८६ लाख २४ हजार रुपैयाँ बोलकबोल गरेका थिए। 

त्यसैगरी क्लोस इन्टरप्राइजेज, सहाय ट्रेडर्स र रामा ट्रेडिङले पर्किन इन्जिनको जेनेरेटरका लागि क्रमशः १७ करोड, १० करोड ८४ लाख र ११ करोड ६६ लाख ६६ हजार रुपैयाँ बोलकबोल गरेका थिए । स्टार इन्टर प्राइजेज र होराइजन ट्रेडर्सले त्यही जेनेरेटरका लागि क्रमशः ११ करोड ६ लाख ९४ हजार ५ सय ६२ र १२ करोड १७ लाख ६९ लाख ६६ रुपैयाँ बोलकबोल गरेका थिए। 

सेनाको प्रबन्ध तथा सम्भार रथी विभागले आरडिएल अन्तर्गतको इन्फ्रेन्सी बटालियन (८५०) का कठिन मौसमी अवस्थामा पनि काम गर्न विशेषता युक्त विभिन्न क्षमताका ६६ वटा जेनेरेटर खरिद गर्ने बोलपत्र आह्वान गरेको थियो । सेनाले कम आवाज उत्पन्न गर्ने, वेदरप्रुफ, पावर कोटेड, एक स्थानबाट अर्को स्थानमा सजिलै सार्न सकिने, साँचो लगाउन मिल्ने, समस्या बिना दैनिक १६ घन्टा चल्न सक्ने, कम तात्ने र दुई वर्षका वारेन्टी भएका जेनेरेटर माग गरेको थियो।
 
सेनाले बोलपत्र आह्वान गर्दा कङ्गो र दक्षिणी सुडान लगायत नेपाली सैनिक मिसन प्रयोग गरिएका भारतीय विद्युतीय उपकरणमा समस्या देखिएपछि उच्च गुणस्तरीय सामग्री खोजेको थियो।
 
‘सेनाको बोलपत्रमा शान्ति मिसनमा प्रयोग गरिने यस्ता जेनेरेटर अति तातो स्थानमा समेत प्रयोग गर्न सकिने र इन्धन ट्यांकी ठूलो हुनुपर्ने जस्ता विशेषता उल्लेख थियो । यस्ता विशेषता हाल खरिद गर्न आशय पत्र लिएको कम्पनीले उपलब्ध गराउने जेनेरेटरमा छैन,’ स्रोतले भन्यो, ‘पहिल्यैसमस्या देखिएको भारतीय कम्पनीबाट खरिदका लागि छनोट गरिएको छ ।’ अहिले खरिद गर्न खोजिएको जेनेरेटर बोलपत्रमा सहभागी अन्य भारतीय कम्पनीका जेनेरेटर भन्दा महँगो र कम गुणस्तरीय भएको स्रोतले जनाएको छ । 

जेनेरेटर खरिद प्रक्रिया सुरुदेखि नै अपारदर्शी रुपमा सञ्चालन गरिएको र बोलपत्रको स्थापित मान्यता समेत उल्लंघन गरिएको देखिन्छ । 

आशयपत्र एक गतेको मिति निकालिएको भएपनि सो विषयलाई गुपचुप राख्न खोजिएको थियो । यो विषयलाई केही कम्पनीले विरोध गरेपछि सेनाले साउन ९गतेको मिति राखेर आशयपत्र संंशोधन गरी साउन दस गते मात्रै अन्य कम्पनीलाई उपलब्ध गराएको थियो । बोलपत्रमा जेनेरेटरको नमुना मागिएको भएपनि सो सामग्री हेर्दै नहेरी कम्पनी छनोट गरिएको बोलपत्रमा सहभागी एक कम्पनीका सञ्चालकले बताए ।
 
सैनिक मुख्यालयले आफ्नो वेबसाइटमा समेत प्रकाशित नगरेको बोलपत्र सो प्रक्रियामै सहभागी नभएको कम्पनी सौगात इन्टरनेसनल लाई समेत पठाएको देखिन्छ। नेपाली सेनाका प्रवक्ता झङ्कबहादुर कडायतले जेनेरेटर खरिद प्रक्रियाबारे आफूलाई केही थाहा नभएको बताए । 

प्रकाशित: २३ श्रावण २०७४ ०७:४७ सोमबार

प्रक्रिया मिचेर