काठमाडौं – सैनिक कल्याणकारी कोषमार्फत व्यापारमा चासो बढाएको विषयमा आलोचना भइरहे पनि सैनिक नेतृत्वको व्यापार मोह घटेको छैन । इन्धन, स्वास्थ्य, मेडिकल, पार्टी प्यालेस, पानी, विद्यालय र जग्गा कारोबार गर्दै आएको नेपाली सेना अब एलपी ग्यास कारोबारमा पनि संलग्न हुने भएको छ ।
सेनाको सैनिक कल्याणकारी कोषमा ३९ अर्बको पुँजी छ । जसमध्ये ३४ अर्ब ५६ करोड बचत छ । यही पुँजीको भरमा उसले आगामी वर्ष इन्धन र अस्पतालको क्षेत्र बढाउने, एलपी ग्यास र जलविद्युत्मा लगानी गर्ने व्यापारिक रणनीति लिएको छ ।
इन्धन, स्वास्थ्य, मेडिकल, पार्टी प्यालेस, पानी, विद्यालय र जग्गा कारोबार गर्दै आएको नेपाली सेना अब एलपी ग्यास कारोबारमा पनि संलग्न हुने
सैनिक प्रवक्ता झंकरबहादुर कडायतका अनुसार सेनाको कल्याणकारी कोष योजनाअनुसार पोखरा र इटहरीमा क्षेत्रीय अस्पताल बनाइने छ । त्यस्तै एलपी ग्यास उद्योग र थप २ स्थानमा पेट्रोलपम्प खोल्ने योजना छ ।
सेनाले एलपी ग्यास र पम्प खोल्ने अनुमति पाइसकेको छ । कल्याणकारी कोषको पैसाबाट जलविद्युत्मा लगानी गर्ने योजना बनाए पनि सैनिक ऐन संशोधन नहुँदा जलविद्युत् व्यापारमा प्रवेश गर्ने उसको योजना साकार हुन सकेको छैन ।
सेनाले रोल्पामा १२.२५ मेगावाट क्षमताको माडी खोला जलविद्युत् परियोजना नमुनाको रुपमा बनाउन चासो राखेको थियो । जलस्रोत मन्त्रालय सकारात्मक भए पनि सैनिक ऐन, २०६३ मा कोषको रकम आफू प्रवर्धक बसेर लगानी गर्न रोक लगाउने प्रावधान भएका कारण सफल हुन सकेको छैन ।
‘जलविद्युत्मा लगानी योजना ऐन संशोधन नहुँदा सम्भव भएको छैन, ऐन संशोधन भए तयार छौं’, आइतबार सेनाको योजना सार्वजनिक गर्दै प्रवक्ता कडायतले भने ।
कल्याणकारी निर्देशनालयको प्रतिवेदन, २०७३ अनुसार सेनाले सर्वसाधारणलाई समेत उपचार गर्नेगरी त्रिचन्द्र मिलिटरी अस्पताल बनाइरहेको छ । भूकम्पले पुरानो भवन भत्किएपछि अहिले आधुनिक भवन बनिरहेको छ । छाउनीमा उसको अस्पताल पहिलेदेखि चलिरहेको छ ।
मध्ययमस्तरका स्वास्थ्यकर्मी उत्पादन गर्न कलेज अफ मेडिकल पोलिटेक्निकल कलेज भवन बनाउने तयारीमा छ सेना । सेनाले प्राविधिक शिक्षामा प्रवेश गर्दै उसले मेडिकल पोलिटेक्निकल महाविद्यालय चलाउने, डेन्टल सर्जरी महाविद्यालय बनाउने, चिकित्सा शास्त्र र नर्सिङमा स्नातकोत्तर तहको पढाइ सुरु गर्ने तयारी गरेको छ ।
कहाँ–कहाँ छ लगानी
अहिले सेनाले पेट्रोल पम्प, चिकित्सा शिक्षा र नर्सिङ शिक्षा कलेज, विद्यालय, अक्सिजन प्लान्ट, पानी उद्योग, पार्टी प्यालेस चलाइरहेको छ ।
सेनाले भण्डारखालमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चलाइरहेको छ । यसमा एमबिबिएसतर्फ १ सय १५ कोटा छ । जसमा विदेशीका लागि ८ र सर्वसाधारणका लागि ३९ कोटा छ । एमबिबिएससँगै उसले बिएससी नर्सिङमा ३० जना, पिबिबिएन कोर्षमा ४० जना र प्रविणता तहमा ४० जनालाई पढाउने अनुमति पाएको छ । प्रविणता तहका ४० कोटामा विदेशी र सर्वसाधारणका लागि १५, बिएससीमा २ विदेशीसहित १२, पिबिबिएनमा २ विदेशीसहित १२ जनाको कोटा छ ।
सेनाले ‘नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्युट’ २०७० बाटै चलाइरहेको छ । उसले श्री रिपुमर्दिनी अक्सिजन प्लान्ट सञ्चालन गरिरहेको छ । सुन्दरीजल वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना भइसकेको छ । काठमाडौं र ललितपुरमा पेट्रोल पम्प चलाउँदै आएको सेनाले तनहुँको खैरेनीटार र बुटवलको रामनगरमा समेत पम्प स्थापना गरेको छ ।
सेनाको विद्यालय सञ्जाल नेपालभर फैलिएको छ । भक्तपुरमा सैनिक आवासीय महाविद्यालय छ । जसमा १ हजार ९ सय ११ विद्यार्थी पढाइन्छ । जसमा ७ सय ३५ सर्वसाधारण छन् । पोखरा, धरान, सुर्खेत, कैलाली, चैनपुर र स्वयम्भूको विजेश्वरीमा पनि सेनाको विद्यालय सञ्चालनमा छ । काठमाडौंको बाँसबारीमा रिपुमर्दिनी सैनिक माबि छ । सैनिक हेडक्वाटरभित्रै उसले भाडा लिएर सार्वजनिक कार्यक्रम गर्न अनुमति दिँदै आएको छ ।
३९ अर्बको शक्ति
संयुक्त राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ खटिएका सैनिकबाट लिएको पैसाबाट सुरु भएको कोषको कुल पुँजी ३९ अर्ब पुगेको छ । लगानीका लागि सेनाको ठुलो शक्ति कोषमा रहेको यही रकम हो ।
आइतबार सार्वजनिक विवरण अनुसार २०३२ सालमा १ करोड २४ लाखबाट सुरु भएको कोषमा २०७३ असार मसान्तसम्म ३३ अर्ब ६ करोड १० लाख जम्मा भएको थियो । २०७४ असार मसान्तसम्म कोषको रकम बढेर ३४ अर्ब ५६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
सेनाले विभिन्न निकायमा ४ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको छ । कोषमा रहेको रकम र लगानीको रकम जोड्दा कोषको सम्पत्ति ३९ अर्ब ५५ करोड ५ लाख पुग्छ ।
व्याजबाट अर्ब आम्दानी
सेनाको आम्दानीको बलियो स्रोत विभिन्न बैंकमा राखिएको रकबाट आउने ब्याज हो । आर्थिक वर्ष ०७२÷०७३ मा उसले २ अर्ब ८१ करोड आम्दानी गरेको थियो । त्यसमध्ये १ अर्ब ५१ करोड विभिन्न वित्तीय संस्थामा राखिएको रकमको ब्याजबापत आएको हो । सहायक रथी गौरव तण्डुकारका अनुसार ‘क’ वर्गका २९ वटा बैंक तथा वित्तीय संस्थानमा कोषको रकम छ ।
उसको आम्दानीको दोस्रो बलियो स्रोत चिकित्सा शिक्षा हो । स्वास्थ्य विज्ञान संस्थानबाट शुल्कबापत उसले ५६ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै उसले विद्यालयहरूबाट उसले २९ करोड, शान्ति सेनामा गएका सैनिकबाट उठाएको ३ करोड १० लाख, आवासबाट १ करोड ४२ लाख, अमेरिकी डलर सटहीबाट २ करोड ८९ लाख कमाएको छ । तीन करोड ७१ लाख आम्दानीको स्रोत खुलेको छैन ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा संस्थामा रहेको सेनाको ८२ करोड रकम जोखिममा रहेकोमा अझै २७ करोड ४९ लाख रुपैयाँ उठाउन बाँकी छ ।
प्रहरी र सशस्त्र पनि कम छैनन्
व्यापार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि कम छैनन् । तर उनीहरूको प्रभाव सेनाको जत्तिको भने छैन । दुबै सुरक्षा संगठनले कल्याणकारी कोषमार्फत पेट्रोल पम्प, पार्टी प्यालेस र हेल्थक्लब चलाउँदै आएका छन् ।
सशस्त्रको कल्याणकारी कोषमा करिब २ अर्ब रुपैयाँ छ भने प्रहरी कल्याणकारी कोषमा २ अर्ब २९ करोड रकम छ ।
सशस्त्रले कीर्तिपुरमा विद्यालय चलाएको छ । प्रहरीले साँगा र काठमाडौंमा आफ्नै विद्यालय चलाएको छ । प्रहरीले भृकुटीमण्डपमा हेल्थक्लब र पार्टी प्यालेस चलाइरहेको छ । सशस्त्रले भने मुख्यालयभित्रको कार्यक्रमस्थललाई भाडामा दिएको छ ।
प्रहरीले काठमाडौंका २ स्थानमा पेट्रोल पम्प चलाइरहेको छ । उपत्यकाबाहिर अमलेखगञ्जमा पनि उसको पम्प छ । सशस्त्रको काठमाडौं, भक्तपुर र पोखरामा पेट्रोल पम्प छ । चितवनमा पम्प रहे पनि व्यक्तिको नाममा रहेकाले सशस्त्रले छाड्यो ।
सेनाले झै प्रहरीले पनि मेडिकल कलेज चलाउने तयारी गरेको थियो । प्रहरी अस्पतालको क्षमता बढाएर मेडिकल कलेल चलाउने उसको प्रयास डा. गोविन्द केसीको आन्दोलनले साकार हुन सकेको छैन । प्रहरीले एलपी ग्यास प्लान्ट स्थापनाको तयारीसमेत गरेको छ ।
प्रहरीले पैसा लिएर विवाह, ब्रतबन्धलगायत कामका लागि प्रहरी व्याण्ड भाडामा दिन्छ । प्रहरीले आफ्नो सामान समेत भाडामा दिन्छ । कार्यालय परिसर प्रयोगगरेबापत ३ घन्टाको ८ हजार लिन्छ उसले । प्रहरीको गाडी, घोडा, कुकुर, हतियार शुल्क लिएर अरुलाई प्रयोग गर्न दिइन्छ । हतियारसहित प्रहरी चाहिए १ घन्टाको ५ हजार रुपैयाँमै उपलब्ध हुन्छ।
प्रकाशित: २३ श्रावण २०७४ ०७:३४ सोमबार