राजनीति

मैले 'एक्टिभिज्म' देखाउन खाेजेकाे हाेइन, संसद्को अवरोधले चिन्तित बनायाेः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफुलाई चिन्तित बनाएको बताउँदै आफुले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् ।  

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई मंगलबार बिहान शीतल निवासमा आमन्त्रण गरेका पौडेलले लिखित धारणा राख्दै संंविधानको पालना, संरक्षण  र राष्ट्रिय एकताको प्रवद्र्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको धारणा राखेका हुन्।  

राष्ट्रपति पौडेल सक्रिय हुन खोजेको भन्दै विपक्षी एमालेले शीतल निवासमा आयोजना गरेको बैठक बहिस्कार गरेको प्रति लक्षित गर्दै उनले भने,‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो।’

राष्ट्रपति पौडेलले अहिलेको संविधान र प्रणालिमा नै खलवाड हुन लागेको आशंका व्यक्त गरेका छन् ।‘अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ,’ उनले भने,‘यसले गर्दा शक्तिपृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिड्न सकेका छौ कि छैनौ भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ ।’ एमाले बाहेकका दल सहभागि सर्वदलिय बैठक अहिले शीतल निवासमा जारी छ।

प्रकाशित: ५ भाद्र २०८० ०५:०८ मंगलबार

राष्ट्रपतिको चिन्ता संविधान र प्रणालीमा खेलवाड