राजनीति

लोसपा कार्यालय खाली गर्न उर्दी

फाइल तस्बिर

बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यालय तत्काल खाली गर्न नेपाल मधेसी निजामती कर्मचारी मञ्चले उर्दी जारी गरेको छ। लोसपाले कार्यालय सञ्चालन गर्दै आएको उक्त भवन मधेस कर्मचारी मञ्चको हो। २०७१ सालमा सरकारले नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा एमालेनिकट निजामती कर्मचारी संगठन तथा तराई मधेस केन्द्रित दलनिकट नेपाल मधेसी निजामती कर्मचारी युनियनको कार्यालय राख्न एकएक रोपनी भोगाधिकार हुने गरी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। उक्त जग्गामा मधेसी कर्मचारी मञ्चले भवन बनाएको थियो।

२०७४ सालमा तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि नयाँ पार्टीको कार्यालय मधेसी कर्मचारी मञ्चको सो भवनमा राखिएको थियो।

त्यसपछि उक्त भवनमा साढे एक तला थपियो। माथिल्लो आधा तला मधेसी कर्मचारी मञ्चलाई प्रयोग गर्न दिइयो भने बाँकी चार तला पार्टीले नै प्रयोग गर्न थाल्यो। राजपापछि गठन गरिएको लोसपाको कार्यालय पनि सोही भवनमा सञ्चालन हुन थाल्यो। यतिबेला भने मधेसी कर्मचारी मञ्चले उक्त भवन तत्काल खाली गर्न उर्दी दिएको छ।

‘हामीले चाँडोभन्दा चाडो भवन खाली गर्न लोसपालाई ताकेता गरिरहेका छौं,’ मधेसी कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले भने, ‘किनभने उक्त भवन हाम्रो हो। पूर्ण रूपले हामीले प्रयोग गर्न पाउनुपर्छ।’ लोसपाले उक्त भवन प्रयोग गरेबापत सुरुदेखि नै भाडा दिने गरेको छैन। लोसपाका एक नेता भन्छन्, ‘मधेसी कर्मचारी मञ्चलाई भाडा नदिए पनि माथिल्लो डेढ तला थप गर्न हाम्रो पार्टी अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेसी कर्मचारी मञ्चका अध्यक्ष विनोद सिंहलाई झन्डै एक करोड रूपैयाँ बुझाउनुभएको छ। हामी सर्नुअघि त्यो रकम चाहिन्छ।’  

प्रकाशित: ४ भाद्र २०८० ०१:०६ सोमबार

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)