राजनीति

पुन: मतदानको फैसला पछि भरतपुर १९ का मतपत्र जलाइयो

चितवन- २० वर्षपछि भएको स्थानीय निर्वाचनमा जनप्रतिनिधि चुन्न भरतपुर महानगरपालिका वडा नं. १९ का मतदाताहरुले बैशाख ३१ गते छाप लगाएका मतपत्रहरु गणना पुरा नहुँदै मंगलबार साँझ सवै जलाइएका छन्। मुख्य निर्वाचन अधिकृतको उपस्थीतमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र दलका प्रतिनिधिहरुको रोहबरमा मतपत्र जलाइएको हो।

                वडा नं. १९ को मतगणना चली रहँदा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो। माओवादीका गणना प्रतिनिधिहरुले मतपत्र च्यातेपछि सो वडामा फेरि चुनाव गराउने वा मतगणा सुरु गरी हाल्ने भन्ने विषयमा कानुनी विवाद उठेको थियो। गणनाका क्रममा ९० वटा मतपत्र च्यातिएका थिए।

निर्वाचन आयोगले सो वडामा फेरि मतदान गराउन भने पनि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। अदालतले पनि आइतबार मात्रै आयोगकै निर्णय सदर गरेको थियो । अदालतको आदेश आएपछि मंगलबार दिउँसो भरतपुरमा बसेको मुख्य निर्वाचन अधिकृतसहितको बैठकले भरतपुर वडा नं. १९ मा आउँदो शुक्रबार २० गते मतदान गराउने निर्णय गरेको छ ।

सो वडामा तीन हजार ७९७ मतदाता छन् । यसअघि सो वडामा दुई हजार ८६० मत खसेको थियो। भरतपुरमा काँग्रेस माओवादीबीच चुनावी गठबन्धन छ। गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल उम्मेद्वार छिन् । एमालेले देवि ज्ञवालीलाई मेयर पदमा उठाएको छ ।

कुल २९ वटा वडा रहेको भरतपुरमा १९ र २० नम्बर वडा बाहेक अरु सवै वडाहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । १९ को गणना अन्तिम हुँदै गर्दा मतपत्र च्यातिएको हो । मतपत्र च्यातिनुअघि वडा नं. १९ को १८ सय मत गनेर परिणाम सार्वजनिक भएको थियो । जसमा एमालेका ज्ञवाली माओवादी केन्द्रकी दाहालभन्दा ७३३ मतले अगाडी थिए ।

सोचे जस्तो मत नआएपछि फेरि मतदान गरेमा धेरै मत ल्याउने सक्ने योजनाका साथ माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ । प्रहरीले मतपत्र च्यातेको अभियोगमा द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई तत्कालै गिरफ्तार गरेको थियो । उनीहरु माओवादी केन्द्रका गणना प्रतिनिधिहरु हुन् । उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रकाशित: १७ श्रावण २०७४ १२:४६ मंगलबार

पुन मतदानको फैसला भरतपुर १९ का मतपत्र जलाइयो