राजनीति

साझाको खर्चमा शर्मासहित सातजनाको टोली विदेश जाँदै

काठमाडौं- साझा प्रकाशनमा अनियमितता भएको सम्बन्धमा शिक्षा मन्त्रालयले छानबिन गरिरहेका बेला संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासहित सातजनाको टोली जापान भ्रमणमा जाने लागेको छ। महाप्रबन्धक शर्मा, सञ्चालक समित सदस्य एवं पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्मा, सदस्य तथा पूर्वमन्त्री प्रदीप नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका प्रमुख राधेश्याम लेकाली, चितवनका शिक्षक तथा कवि सुरेन्द्र अस्तफल (सुरेन्द्रप्रसाद पौडेल) र अन्य दुईजना महिला आगामी अगस्ट ९ देखि १६ सम्म जापान भ्रमणमा जान लागेको स्रोतले जानकारी दिएको छ। शर्मासहित तीनजना सञ्चालक सदस्य, लेकाली र पौडेलको भिसा लागे पनि दुईजना महिलाको भिसा भने  प्रक्रियामा रहेको छ।

विदेश भ्रमणका विषयमा साझा सञ्चालक समिति सदस्य नेपालले महाप्रबन्धक शर्माले आफूलाई भ्रमणको प्रस्ताव गरे पनि अस्वीकार गरेको बताएका छन्। 'म केही समय पहिले मात्र जापान गएर फर्केको हुँ, त्यसैले मैले डोलिन्द्रको प्रस्ताव अस्वीकार गरेको छु। म जान लागको भन्ने कुरा असत्य हो,' नेपालले भने। अर्का सदस्य शर्माले भने सुरुमा आफूलाई यस विषयमा जानकारी नभएको बताए पनि भिसा आवेदनको प्रमाण नागरिकसँग रहेको बताएपछि आफूले आवेदन गरेको तर जाने–नजाने निश्चित नभएको बताए।

समाजका अध्यक्ष लेकालीले पनि नागरिकसँग कुरा गर्दै आफू साझाका सदस्यसहित जापान भ्रमणमा जान लागेको स्वीकार गरेका छन्।

साझाको टोली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निमन्त्रणामा जापान जान लागेको हो। तर, भ्रमण टोलीको यात्रा खर्च तथा कार्यक्रम खर्च समाजले नव्यहोर्ने स्पष्ट पारेको छ। 'शर्माकै आग्रहमा सात जनाको टोलीलाई नेपालबाट निमन्त्रणा गरिएको भए पनि भ्रमण टोलीको कुनै पनि खर्च नव्यहोर्ने आयोजकले स्पष्ट पारेको छ,' स्रोतले भन्यो।

सञ्चालक दिनानाथ शर्माले यात्राखर्च व्यक्तिले व्यहोर्ने तर जापानमा हुने कार्यक्रम तथा बसोबासको व्यवस्था भने आयोजक संस्थाले गर्ने दाबी गरे। १२ अगस्टमा जापानको आरएसआर कोर्ड हल ओकुबु साइजुकुमा आयोजना हुन लागेको 'जापानमा नेपाली कवि र कविता कृति विमोचन, कवि गोष्ठी तथा साझा पुस्तक प्रदर्शनी' का लागि भन्दै उनीहरू जापान जान लागेका हुन्।

विदेश भ्रमणका विषयमा सञ्चालक समितिले भने कुनै निर्णय गरेको छैन। सञ्चालक समितिका निर्वाचित सदस्य विजय सुब्बाले भ्रमणबारे समितिले कुनै निर्णय नगरेको बताए। अर्का सदस्य नेपालले पनि सञ्चालक समितिमा विदेश भ्रमणबारे छलफल नभएको स्पष्ट पारे।

ज्ाापान जान लागेको टोली आगामी  सेप्टेम्बर ९, १० र ११ मा हुने पाँचौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिन समाजकै  लोगोमा अस्ट्रेलिया पनि जाँदैछ। अस्ट्रेलियाबाट पनि निमन्त्रणा पाइसकेको शर्मा नेतृत्वको टोलीले भिसा आवेदन गरिसकेको स्रोतले जानकारी दिएको छ। भ्रमण सदस्यमध्ये एक सुरेन्द्र अस्तफलको भिसा अस्वीकृत भएपछि उक्त टोलीले अस्ट्रेलियामा पनि भिसा आवेदन दिइसकेको पुष्टि भएको हो। अस्ट्रेलिया भ्रमणको खर्च पनि आयोजकले नव्यर्होने स्पष्ट पारिसकेको छ। अस्ट्रेलिया भ्रमणपश्चात् साझाको टोली अमेरिका भ्रमणमा जाने तयारीमा रहेको स्रोतको दाबी छ।    

साझामा भएको अनियमितताबारे शिक्षा मन्त्रालयले छाननिब समिति बनाएर जाँच गरिरहेका बेला महाप्रबन्धक तथा सञ्चालक समिति सदस्यको विदेश भ्रमणका विषयमा विभिन्न क्षेत्रबाट आलोचनासमेत हुन थालेको छ। त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. खगेन्द्र लुइँटेल नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्नु राम्रो भए पनि यसको विस्तार गर्ने आधिकारिक निकाय साझा हो कि होइन भनेर प्रश्न गर्छन्। लुइँटेलका अनुसार साझाको वर्तमान भद्रगोल अवस्थामा सञ्चालकहरू विदेश भ्रमणमा जानु ठिक हो कि होइन भन्ने कुरा स्वयं सदस्यहरुले नै सोच्ने विषय हो।

 महाप्रबन्धक शर्मा गत वर्ष पनि सञ्चालक समिति सदस्य प्रदीप नेपाललाई लिएर  कोरिया भ्रमण गएका थिए। उनी फर्केपछि मात्र सञ्चालक समितिको बैठकमार्फत भ्रमण स्वीकृत गराएको एक सदस्यले जानकारी दिए। गत वर्ष उनी साझाकै कार्यक्रममा भन्दै पत्नी सुमित्रा डंगोल महर्जनसँग लन्डन गएका थिए। लन्डन जाने क्रमम शर्माले नौ हजार थान पुस्तक साथमा लगेका थिए। कैयौं पुस्तक पाँच देखि १० पाउन्डमा बिक्री गरे पनि त्यसबापतको आम्दानी उनले साझालाई नबुझाएको स्रोतले बतायो।

विदेश भ्रमणका विषयमा बुझ्न महाप्रबन्धक शर्मासँग पटकपटक सम्पर्क प्रयास गरे पनि उनी सम्पर्कमा आएनन्।

प्रकाशित: १७ श्रावण २०७४ ०२:५८ मंगलबार

साझाको खर्चमा शर्मासहित सातजनाको टोली विदेश जाँदै