राजनीति

सरकारको मधेश विरोधी व्यवहारले तराई वर्षेनी डुबानमा पर्छ: प्रभु साह

सरकारको निरन्तर मधेश विरोधी व्यवहारका कारण तराई मधेशमा वर्षेनी डुबानको समस्या हुने गरेको आम जनता पार्टीका अध्यक्ष तथा साँसद प्रभु साहले बताएका छन्।

मौलापुर नगरपालिकामा सहरी विकास मन्त्रालयद्वारा २७ करोड ५६ लाख रुपैयामा निर्माण भएको सहिद स्मृति बहुद्देश्यीय भवनको उदघाटन गर्दै पूर्वमन्त्री साहले पहाडमा हुने वर्षाको कारण तराई मधेश डुबानमा पर्ने गरेकोले पहाडका मानिसले पनि तराईको डुबानको बारेमा नैतिक दायित्व लिनुपर्ने धारणा राखेका हुन्।

हरेक वर्ष तराई मधेशमा बाढीको कारण जनधनको क्षति हुने गरेको, बालीनाली नोक्सान हुने गरेको तथा मच्छरको समस्या बढ्ने गरेको बताउँदै साहले सरकारको मधेश विरोधी व्यवहारका कारण मधेशमा डुबान लगायतका समस्या निरन्तर बढिरहेकोमा उनले चिन्ता व्यक्त गरे।

देशमा बढिरहेको आर्थिक समस्याप्रति सरकार नै दोषी रहेको आरोप लगाउँदै नेता साहले सरकारले बेरोजगारी बढाएर बेरोजगारीको व्यापार गरेको आरोप पनि लगाए। साहले राजनीतिक व्यवस्था र अस्थिरताको कारण नै देशको आर्थिक अवस्था चिन्ताग्रस्त बनेको बताए।

सरकारको गलत नीतिको कारण गाउँमा आर्थिक कारोबार बन्द भएको उल्लेख गर्दै नेता साहले सरकारले सर्वसाधारणलाई बैंकमार्फत ऋण नदिएको तथा गाउँको ऋण लेनदेन पनि प्रभावित भएको बताए।

देशको यस्तै अवस्था रहिरहे जनता चुप लागेर नबस्ने सम्भावना रहेको उल्लेख गर्र्दै नेता साहले समस्यामा परेकाहरु समाधानको लागि चुप लागेर नबस्ने बरु विद्रोह गर्ने चेतावनी पनि दिए।  

प्रकाशित: ३२ श्रावण २०८० १४:१३ बिहीबार

प्रभु साह