राजनीति

भरतपुर १९ मा पुन: मतदान गर्न सर्वोच्चको आदेश

काठमाडौं- भरतपुर महानगरपालिका-१९ को मत परिणाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुन:मतदान गर्नुपर्ने फैसला सुनाएको छ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुर्सोत्तम भण्डारीको संयुक्त इजलासले यस भन्दा अघिको अन्तरिम आदेश समेत खारेज गर्दै निर्वाचन आयोगलाई पुन मतदानको लागि व्यवस्था गर्न आदेश दिएको हो।

मत गन्दा गन्दै विवादमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले भरतपुरको एउटा वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

आयोगको निर्णय विरुद्ध भरतपुर महानगर १९ का वडा सदस्यका उम्मेदवार गुन्जमान बिक, अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए।

यो विवादमा यसअघि सर्वोच्चले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो। सोहीअनुसार अदालतमा च्यातिएको मतपत्रसहित अरु कागजपत्र असार १३ गते ल्याइएको थियो।  

भरतपुर महानगरपालिकाको प्रमुखमा एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रका रेणू दाहालबीच तीव्र प्रतिस्पर्धा थियो। मतगणनाको क्रममा वडा नं १९ को मतपत्र च्यातिएपछि विवाद अदालतमा आएको थियो।

 

प्रकाशित: १५ श्रावण २०७४ १३:१३ आइतबार

भरतपुर १९ पुन मतदान गर्न सर्वोच्चको आदेश